सम्पत्ति शुद्धिकरणका नाममा अर्को व्यवस्था आउँदै, चेक जम्मा गर्नेको पनि तीन पुस्ते चाहिने

काठमाडौं।

अहिलेनै बैंकमा गएर चेक साट्न वा जम्मा गर्न झझण्टिलो छ। सरल र सहज बैंकिङको विपरित सम्पत्ति शुद्धिकरण (एन्टी मनी लाउन्ड्रिङ) का कारण एकपछि अर्को व्यवस्था थपिन थालेका छन्।

केही वर्षअघि नो योर कस्टुमर (केवार्इसी) कार्यान्वयनपछि राष्ट्र बैंकले ‘गोएएमएल’ सफ्टवेयर जोड्न सबै बैंकलार्इ निर्देशन दिएको छ। यो सफ्टेवयर कार्यान्वयनमा आएपछि बैंकले चेक जम्मा गर्न जानेसँग पनि सबै विवरण माग गर्नेछ।

एक महिना अगाडि दिइएको निर्देशन अनुसार बैंकहरुले कात्तिक १ गतेबाट चेक तथा नगद जम्मा गर्ने फारम नयाँ बनाउँदै आफ्नो आन्तरिक प्रणालीलाई पनि परिवर्तन गर्नु पर्छ।

नेपाल बैंकर्स संघले कात्तिक १ गतेबाट प्रणालीमा आवद्ध भएर जान गाह्रो हुने भन्दै त्यसपछिको ६ महिनासम्म समय दिन राष्ट्र बैंकसँग माग गरेको छ।

गोएएमएल सम्पति शुद्धिकरणसँग सम्बन्धित सफ्टवेयर हो। यसमा समावेस हुन बैंकहरुले आफ्नो ‘कोर बैंकिङ सिस्टम (सिबिएस)’ लाई अपग्रेड गर्नुपर्छ।

नियामकीय व्यवस्था र व्यवहारिक रुपमा समेत नभएको तथ्यांकहरु समेत गोएएमएलमा समाबिष्ट गर्नुपर्छ, जुन कुरा बैकहरुसँग अहिले छैन। त्यही भएर उनीहरुले समय माग गरेका हुन्।

‘सम्पति सुद्धीकरणका लागि अन्तर्राष्ट्रियस्तरमा सूचनाहरु समाबिस्ट गरेर त्यसका आधारमा बलियो नियमन तथा सुपरिवेक्षण गर्न गोएएमएल नेपालमा पनि लागू भएको हो’ एक बैंकरले बिजमाण्डूसँग भने, ‘यो सफ्टवेयरले माग्ने कुरा अहिले हाम्रो कोर बैंकिङ प्रणालीमा छैन। त्यही भएर सबै कुरा मिलाउन केही समय माग गरिएको छ।’

बैंकरका  अनुसार नियमनकारी निकायले पनि नखोज्ने र बैंकलाई पनि आवश्यक नलागेको विवरणहरु गोएएमएलमा भर्नुपर्छ। नयाँ विवरण लागू भएको मितिको गर्न मिले पनि पूरानो विवरण बैंकहरुसँग छैन। ती सबैको ब्यवस्था मिलाउन अहिले बैकहरुलाई हम्मेहम्मे परेको छ।

जस्तो अहिले राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा माथिको कारोबारको विवरण माग्छ। तर कतिपय ग्राहकले बिहान ५ लाख र बेलुका ६ लाखको कारोबार गर्दा दिनभरीमा ११ लाखको कारोबार हुन्छ। यसरी टुक्र्याएर हुने कारोबारको बिवरण बैंकहरुसँग हुँदैन। यी सबै विवरणहरु मिलाउन बैंकलाई समय चाहिएको हो।

अहिले बैंकहरुले १० लाखमाथिको र शंकास्पद कारोबारको विवरण मात्रै राख्दै आएका छन्। र यो विवरण राष्ट्र बैंकलाई उपलब्ध गराउँछन्। अब भने सबै कारोबारको विवरण बैंकको कोर बैंकिङ सिस्टम हुँदै गोएएमएलमा ठोकिन्छ। गोएएमएलमा जानका लागि चेक जम्मा गर्नेको नाम, ठेगाना, नम्बरदेखि अन्य विवरण पनि भर्नु पर्छ।

‘यस्ता ससाना विवरण नभइ गोएएमएलले मान्दैन,’ ती बैंकरले भने, ‘भरेको विवरण पनि बैंकमै फिर्ता आउँछ। काम हुँदैन। त्यसैले समय केही बढी चाहिएको छ।’

उनका अनुसार, नयाँ प्रणालीमा जाँदा बैकहरुले पूराना कुराहरु पनि खोजेर राख्नु पर्छ। आफ्नो सुचना प्रणालीलाई बलियो बनाउनु पर्छ। त्यो गर्न तत्काल सम्भव छैन।

उनका अनुसार, नयाँ प्रणाली लागू भएसँगै बैकमा जाने ग्राहक पहिले भन्दा केही बढी समय लाग्छ भनेर तयार भएर जानुपर्छ। किनभने काउन्टरमा बस्नेले ग्राहकसँग सबै कुराकानी गरेर, आवश्यक विवरण भरेर मात्र कारोबार हुन्छ।

‘हिजो सिङ्गल इन्ट्री हुन्थ्यो भने अबदेखि दुबै पक्षको इन्ट्री हुने भयो’ ती बैंकरले भने, ‘त्यसो हुँदा समय बढी लाग्छ।’ नयाँ प्रणाली अनुसार, सामान्य लागेका बिवरणहरु पनि भर्नुपर्ने हुन्छ। ‘धेरै नै कम्प्लिकेसनहरु छन्,’ ती बैंकरले भने, ‘बैंकरहरु पनि केही समय पाए  कार्यान्वयनमा ल्याउन तयार छन्।’

सम्बन्धित
Leave A Reply

Your email address will not be published.