सात वाणिज्य बैङ्कले गरे ११ अर्बको लाभांश घोषणा

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ७ वाणिज्य बैङ्कले लाभांश घोषणा गरेका छन् । दशैं बिदा हुनुभन्दा अघिसम्म सञ्चालनमा रहेका २७ मध्ये सो संख्यामा वाणिज्य बैङ्कहरुले लाभांश घोषणा गरेका हुन् । वाणिज्य बैङ्कहरुले घोषणा गरेको लाभांश अनुसार हालसम्म यी बैङ्कहरुले आफ्ना शेयरधनीलाई औसत १४.६८ प्रतिशतको लाभांश वितरण गर्न सफल भएका छन् ।

उल्लेखित बैङ्कहरुसँग हाल ७६ अर्ब ११ करोड रुपैयाँ बराबर चुक्तापुँजी छ । ती बैङ्कहरुले ११ अर्ब १७ करोड रुपैयाँ लाभांश घोषणा गरेका छन् । घोषित लाभांशमध्ये २ अर्ब १३ करोड रुपैयाँ अर्थात् २.८० प्रतिशत नगद लाभांश र ९ अर्ब ४ करोड बराबरले हुने ११.८८ प्रतिशत बोनस शेयर प्रस्ताव गरिएको छ ।

कुन बैङ्कको कति लाभांश ?

हालसम्म लाभांश घोषणा गरेका वाणिज्य बैङ्कमध्ये सबैभन्दा बढी लाभांश एनआईशी एशिया बैङ्कले दिएको छ । एनआईशी एशिया बैङ्कले चुक्ता पुँजीको २० प्रतिशतले हुने १ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बराबरको लाभांश घोषणा गरेको हो । सो लाभांशमध्ये १९ प्रतिशत बोनस शेयर र बाँकी १ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको हो । एनआईशी एशिया बैङ्कको हालको चुक्तापुँजी ९ अर्ब ७१ करोड ७६ लाख रुपैयाँ रहेको बैङ्कले जनाएको छ ।

त्यस्तै, ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डूले १६÷१६ प्रतिशत लाभांश दिएका छन् । ग्लोबल आईएमई बैङ्कले १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश समेत गरी कुल ३ अर्ब ६ करोड ६१ लाख रुपैयाँ लाभांश वितरणको प्रस्ताव गरेको हो । अघिल्लो वर्ष जनता बैङ्कसँग मर्जरमा गएको सो बैङ्कसँग हाल १८ अर्ब ९७ करोड रुपैयाँ चुक्ता पुँजी छ ।

बैङ्क अफ काठमाण्डूले १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश समेत गरी कुल १ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको हो । हाल बैङ्कसँग ८ अर्ब ५४ करोडको पुँजी छ ।

त्यस्तै, कुमारी बैङ्कले १४ प्रतिशत, सानिमा बैङ्कले १३.६ प्रतिशत, सिटिजन्स बैङ्कले ११ प्रतिशत र माछापुच्छ्रे बैङ्कले १०.४० प्रतिशत लाभांश प्रस्ताव गरेका छन् । माछापुच्छ्रे बैङ्कले गत जेठमै २.८५ प्रतिशत अग्रिम लाभांश दिएकोले अहिले थोरैमात्र लाभांश दिएको हो ।

कुमारीले घोषणा गरेको लाभांशमध्ये १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश रहेको छ । यी दुईसमेत गरी कुमारीले कुल १ अर्ब ७५ करोड २९ लाख रुपैयाँ बराबरको लाभांश बाँड्नेछ । १२ अर्ब ५२ करोड चुक्तापुँजी भएको कुमारी बैङ्कको लाभांश रकमको आकार धेरै भए पनि चुक्ता पुँजी कम भएकोले कुल लाभांशको आकार १४ प्रतिशतसमा सीमित भएको हो  ।

सानिमाले १० प्रतिशत बोनस शेयर र ३.६ प्रतिशत नगद लाभांश समेत गरी १३.६ प्रतिशत १ अर्ब १९ करोड ७० लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो । बैङ्कसँग ८ अर्ब ८० करोड १३ लाख चुक्ता पुँजी छ ।

त्यस्तै, सिटिजन्स बैङ्कले ७.७० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद लाभांश समेत गरी ९९ करोड ९८ लाख ८० हजार बराबर ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । सिटिजन्स बैङ्कको हालको चुक्तापुँजी ८ अर्ब ८ करोड ९८ लाख रुपैयाँ छ ।

माछापुच्छ्रे बैङ्कले भने चुक्ता पुँजी ७.०३ प्रतिशत बोनस र ३.३७ प्रतिशत नगदसहित १०.४० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित दरअनुसार बैङ्कले ८७ करोड ९६ लाख ८१ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ । बैङ्कको हालको चुक्तापुँजी ८ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ छ ।

असारको क्षमताभन्दा बढी लाभांश

असार मसान्तको वित्तीय विवरणका आधारमा बैङ्कहरुले लेखापरीक्षण नगरिएको वित्तीय विवरण सार्वजनिक गरेका थिए । असार मसान्तको विवरणमा आधारित रिपोर्टमा एनआईशी एशियाको १४.८९ प्रतिशत लाभांश क्षमता थियो । त्यस्तै, सानिमा बैङ्कको १२.७२ प्रतिशत, माछापुच्छ्रे बैङ्कले १०.७४ प्रतिशत, बैङ्क अफ काठमाण्डूले १०.३० प्रतिशत, ग्लोबल आईएमई बैङ्कको ९.१३ प्रतिशत, सिटिजन्स बैङ्कको ९.०५ प्रतिशत र कुमारी बैङ्कको ८.२१ प्रतिशत मात्रै लाभांश क्षमता देखिएको थियो ।

असार मसान्तको वित्तीय विवरणमा कम लाभांश क्षमता देखाएका वाणिज्य बैङ्कहरुले अधिले लाभांश भने धेरै घोषणा गरेका हुन् । ३ महिनासम्म उठेको रकमका आधारमा लाभांश घोषणा गर्न पाउने भएपछि बैङ्कहरुको यस्तो क्षमता बढेको हो । नाफाबाहेक अन्य माध्यमबाट प्राप्त भएका रिजर्भहरुलाई समेत समावेश गर्दा बैङ्कहरुले उच्च दरको लाभांश प्रस्ताव गर्न सफल भएका हुन् ।

बैङ्क सञ्चालक समितिले प्रस्ताव गरेको दरलाई साधारणसभाले पास गरेपछि मात्रै वितरण गर्न पाउने प्रावधान छ । लाभांश घोषणा गर्नुअघि राष्ट्र बैङ्कबाट स्वीकृति लिनुपर्ने भएकोले घोषित लाभांशमा नियामकीय अवरोधको सम्भावना हुँदैन ।

शेयर बजारमा उछाल

बैङ्कहरुले अपेक्षाभन्दा धेरै दरमा लाभांश घोषणा गर्न थालेपछि शेयर बजारमा समेत उछाल आएको छ । दशैंपछि पहिलोपटक खुलेको बुधबारको शेयर बजार ४१ अंकले बढ्दा बजारमा बैंकिङ समूह नै बढी हावी देखिएको छ । बैंकिङ समग्रमा २.५७ प्रतिशतले बजार बढ्दा बैंकिङ समूह भने ४.२७ प्रतिशतले बढेको हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.