सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड भोलि, कतिले पाउने, कतिले नपाउने ?

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ। आईपीओ बाँडफाँड बिहान ११ बजे धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडको काठमाण्डौ त्रिपुरेश्वरस्थित कार्यालयमा हुनेछ। सिंगटी हाइड्रोले गत चैत ६ गतेदेखि चैत १० गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भन ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ। बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्। मेगा क्यापिटलका अनुसार अन्तिम दिनसम्म यो आईपीओमा १६ लाख २४ हजार ४८३ आवेदन परेको छ। ती आवेदनबाट कुल २ अर्ब ४५ करोड १६ लाख ६६ हजार रुपैयाँबराबरको अर्थात २ करोड ४५ लाख १६ हजार ६०० कित्ता खरिदका लागि आवेदन परेको छ।

यो हिसाबले यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमध्ये भाग्यमानी २ लाख ६९ हजार ७०० ले १० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी १३ लाख ५४ हजार ७८३ आवेदकको हात खाली हुने भएको छ। 

नेपाल धितोपत्र बोर्डले गत पुस २१ गते सिंगटी हाइड्रोलाई आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको थियो। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका बिगु र कालिन्चोक गाउँपालिका बासिन्दाका लागि गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म कुल १४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको गरेको थियो।  

आईपीओ कम्पनीको चुक्तापुँजीको ३० प्रतिशतबराबरको रहेको छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.