सिंगटी हाइड्रोको रु. २९ करोडको आईपीओमा आजबाट आवेदन खुला, कति कित्ता भर्ने ?

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आज चैत ६ गतेदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको हो। जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भन ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ। बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।  यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुपति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट यो आईपीओमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ। 

यो आईपीओको निष्कासन बन्द छिटोमा चैत १० गते र ढिलामा चैत २० गते बैंकिङ समयपछि हुनेछ।

हाल प्राथमिक बजारमा लगानीकर्ताहरु निकै आकर्षित भइरहेका छन्। पछिल्लोपटक निष्कासन भएको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा झन्डै साढे १८ लाखले आवेदन दिएका छन्। 

यो हिसाबले सिंगटी हाइड्रो इनर्जीको आईपीओमा पनि १८ लाखभन्दा बढीको आवेदन पर्ने देखिन्छ। तर यो कम्पनीको आईपीओ भर्ने २ लाख ६९ हजार ७०० आवेदकले मात्र १० कित्ताका दरले सेयर पाउने देखिन्छ। त्यसैले यो आईपीओमा पनि १० कित्ता अर्थात १ हजार रुपैयाँमात्र लगानी गर्नु उचित देखिन्छ। 

नेपाल धितोपत्र बोर्डले गत पुस २१ गते सिंगटी हाइड्रोलाई आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको थियो। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका बिगु र कालिन्चोक गाउँपालिका बासिन्दाका लागि गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म कुल १४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको गरेको थियो।  

आईपीओ कम्पनीको चुक्तापुँजीको ३० प्रतिशतबराबरको रहेको छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.