सुन तस्करको नयाँ शैली: युएईबाट पम्प र वासिङ मेसिनमा फिट गरेर ल्याए सुन, प्रविधि समेत झुक्कियो

काठमाडौं। विदेशमा भन्दा नेपालमै सस्तो पर्ने सामग्रीको संदिग्घ आयातमा संलग्न भारतीय मूलका एक व्यक्तिलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ ।

घरायसी प्रयोगका मेशिनरी तथा अप्लायन्स आयातको यो कारोबार जोडिन्छ सुन तस्करीसँग ।

नेपालमै तुलनात्मक रुपमा कम मूल्यमा पाइने सामग्री एक कम्पनीले संयुक्त अरब इमिरेट्स (युएई) बाट आयात गरिरहेको देखिएपछि विभागले यो आयातलाई आधार बनाएर विदेशबाट आउने सामग्रीको अध्ययन सुरु गरेको थियो।

युएईबाट उक्त कम्पनीले पानी तान्ने मेसिन (पम्प), वासिङ मेसिन लगायत सामग्री आयात गर्ने गरेको थियो जसको मूल्य नेपालमै सस्तो पर्ने विभागको भनाइ छ । यसैले सो कम्पनीले आयात गरेको सामग्रीलाई पछ्याउँदै एक टोली खटाएर विभागले यसबारे अध्ययन थाल्यो । प्रारम्भिक अध्ययनबाट ती सामग्री यहाँ प्रयोगका लागि आयात नभएको देखिएपछि विभागले थप अध्ययन अघि बढायो ।

यो कारोबारमा भारतीय मुलका दुई नागरिक भएको पत्ता लागेपछि विभागले उनीहरुलाई ‘वाच लिस्ट’ मा राखेको थियो । उनीहरुले त्यसरी सामान आयात गर्दा तीनदेखि चारवटासम्म नाम प्रयोग गर्ने गरेको विभागको अनुसन्धानमा खुल्न आएको छ। संदिग्ध कारोबारमा संलग्नमध्ये ‘अनेकल’ नामका एक व्यक्ति अहिले पक्राउ परेका हुन् ।

वाच लिष्टमा राखेर पछ्याउँदै गएको विभागले अनुसन्धान गर्दा पक्राउ परेका व्यक्ति तिलगंगा आँखा अस्पतालनजिकै बस्ने गरेको पत्ता लाग्यो । विभागको अनुसन्धान टीमसँग उनीबस्ने घरको कलर र कोठाको रंग फोटो प्रमाणका रुपमा थियो। त्यही फोटोको आधारमा टोलीले ती व्यक्तिहरुलाई खोज्न सुरु गरेको थियो। 

त्यसक्रममा एक सयभन्दा बढी घर खोजतलास गरेपछि विभागको टोलीले ती व्यक्ति बस्ने गरेको घर फेला पारेको हो । ‘यो केसको अध्ययन गर्न निकै कठिन मिहनेत गर्नु परेको छ,’ विभागका एक अधिकारीले भने, ‘हामीले गत फागुनमा सुन तस्करीको सूचना पाएका थियौं। त्यसलगतै अनुसन्धान सुरु गरेका थियौं। तर कोभिडको प्रकोपबीच अनुसन्धानमा निकै झन्झट बेहोर्नु पर्यो।’ 

कोभिडको समयमा तस्करीले प्रयोग गर्ने घर र थप प्रमाण जुटाउन निकै कठिन परेको ती अधिकारीले बताए।

भारतीय मूलका ती दुईले तिलगंगानजिकै एउटा घर भाडामा लिएर युएईबाट मेसिनभित्र सुन जडान गरी मेसिनको भन्सार तिरेर  त्रिभुवन विमानस्थल (टिआईए) कै नाकाबाट नेपाल भित्र्याउने गरेको पाइएको हो । त्यसरी तस्करी गरेर ल्याउने सुन त्रिभुवन विमानस्थलबाट नेपाल आइपुग्नेवित्तिकै सकेसम्म चाँडै सुरक्षित ठाउँमा पुर्‍याउन सकियोस् भनेर टिआईएनजिकै घर भाडा लिएका हुन् । 

युएईबाट मेशिनमा जडान गरेर तस्करी गरि ल्याएको सुन सोही घरमा लगेर निकालेर पुनः भारत तस्करी गर्ने गरेको अनुसन्धानबाट खुलेको विभागले जानकारी दिएको छ। ‘मेशिनबाट निकालेपछि त्यो सुन बोकेर ती व्यक्तिहरु आफैं भारतीय बजारसम्म पुग्ने गरेको पाइएको छ,’ विभाग स्रोतले भन्यो ।

यसरी सुन बोकेर भारततर्फ हिंडेको सूचना पाएपछि नै विभागको टोलीले काठमाडौंबाटै ती व्यक्तिहरुलाई पछ्याउन सुरु गरेका थिए। पिछा गर्दै हेटौंडा पुगेपछि ती व्यक्तिहरु भाग्ने प्रयास गरेका थिए। त्यसक्रममा विभागको टोलीले एकजनालाई मात्रै पक्राउ गर्न सफल भएको हो । पक्राउन परेका व्यक्तिबाट टोलीले ६ किलो सुन बरामद गरेको छ। 

प्रविधिलाई नै झुक्याउने प्रविधि

कुनैपनि अस्वभाविक वस्तु आयात भए त्यस्ता वस्तुलाई अनुसन्धान विभागले निगरानीमा राख्ने गरेको छ। यसैले विदेशबाट ल्याउने सामग्रीको टिआईए भन्सार कार्यालयमा स्क्यानिङ गर्ने गरिन्छ। तर स्क्यानिङ मेसिनलाई समेत झुक्याउने गरी तस्करहरुले मेशिनमा सुन फिटिङ गर्ने गरेको भेटिएको छ। यसरी ल्याउने सुनमा बाहिर बेग्लै

धातुको प्रयोग गरी भित्र सुन राखिने गरेको विभागको अनुसन्धानमा खुलेको छ।  

तस्करको माथिल्लो लेयर पत्ता लाग्न सकेन
विभागले करिब एक वर्ष अनुसन्धान गर्दा पनि दुईजनाभन्दा माथिका वा अन्य व्यक्ति पत्ता लगाउन सकेको छैन। यसको अनुसन्धानका लागि विभागले भारतमा समेत टोली खटाएको थियो । तर कुनै प्रगति हासिल गर्न नसकेको विभागको भनाइ छ ।

यस्तै नेपालमा पनि कुनैपनि यससँग संलग्न व्यक्ति विभागले पत्ता लगाउन सकेको छैन। यो तस्करीमा संलग्न फरार एक व्यक्ति पनि अहिलेसम्म फेला परेको छैन।

अहिले पक्राउ परेका व्यक्तिलाई विभागले एक अर्ब बिगो माग दाबी गर्दै मुद्दा दायर गर्ने तयारी गरेको छ। यसका लागि सरकारी वकिलको राय लिन पठाइएको छ। ती व्यक्तिले पटकपटक गरी सयौं केजी सुन तस्करी गरेको विभागको दाबी छ।   

विराटनगर पुगेपछि टेम्पोको प्रयोग

युएईबाट सुन ल्याएर भारत तस्करीमा संलग्न उनीहरुले विराटनगर भएर पनि भारतीय बजारमा सुन पुर्‍याउने गरेको पाइएको छ ।

विराटनगर पुगेपछि उनीहरुले सीमासम्म पुग्न नियमित एउटै टेम्पो चालकको सहायता लिने गरेको अनुसन्धानमा खुलेको छ। चल्तीको भाडादर भन्दा धेरै रकम दिएपछि टेम्पो चालकले ती व्यक्तीहरुलाई नियमित सेवा दिँदै आएका थिए। ‘राम्रो’ ग्राहक पाएका टेम्पो चालकले आफ्नो मोबाइल फोनसमेत उनीहरुलाई प्रयोग गर्न दिने गरेको खुल्न आएको छ। विभागले ती टेम्पो चालकलाई पनि नियन्त्रणमा लिइसकेको छ। टेम्पो चालकले भने उनीहरुको सुन तस्करीबारे जानकारी नभएको बयान दिएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.