सेटिङमा तयार पारिन्छ गुणस्तरको रिपोर्टः काँचो चुनढुंगा हालेर बनाइएको सिमेन्ट उत्कृष्ट

काँचो चुनढुंगा हालेर बनाइएको सिमेन्टसमेत नेपाल गुणस्तर तथा नापतौल विभागको प्रयोगशालाबाट पास भएको पाइएको छ । नियमअनुसार चुनढुंगालाई पकाएर सिमेन्ट बनाइन्छ । तर, केही उद्योगले काँचो चुनढुंगा प्रयोग गरेर सिमेन्ट बनाउँदा पनि सरकारी ल्याबबाट पास भएको खुलेको हो ।

उद्योगीले प्रयोगशालामा बस्ने प्राविधिकलाई आफ्नो पक्षमा पारेर यस्तो रिपोर्ट तयार गरिरहेका छन् । ‘जसको सबै कम्पोनेन्ट पूरा भएको छ, त्यस्ता उत्पादन विभागको ल्याबबाट फेल हुन्छन्,’ विभागकै एक कर्मचारीले भने, ‘जुन कम्पनीको नमूना फेल हुनुपर्ने हो, त्यो पास भएको छ ।’

पछिल्लो समय उद्योगीले आफ्नो कस्ट भन्दा सस्तोमा सिमेन्ट बेच्न थालेका छन् । लागत भन्दा सस्तोमा सिमेन्ट बेच्नै सकिँदैन । तर, केही उद्योगको कसरी सम्भव भएको छ भन्ने अनुसन्धान गर्दै जादा काँचो चुनढुंगा हालेर सिमेन्ट बनाइएको फेला परेको हो । तर, विभागबाट त्यस्ता कम्पनीका उत्पादन पास भइरहेका छन् ।

उद्योग मन्त्रालयका अनुुसार केही उद्योगीले मन्त्रालयका उच्च अधिकारीसँग पनि यस विषयमा गुनासो गरेका छन् । विभागको प्रयोगशालामा बस्ने कर्मचारीसँग सेटिङ मिलाएर कमसल सिमेन्टको पनि रिपोर्ट राम्रो निकाल्ने काम भइरहेको छ ।

उद्योगीले मन्त्रालयमा गरेको गुनासोअनुसार प्रयोगशालामा बस्ने व्यक्तिलाई मासिक ५० हजार रुपैयाँ भन्दा बढी घुस खुवाएर नराम्रो सिमेन्टलाई पनि राम्रो भनेर रिपोर्ट तयार गराइरहेका छन् ।

उद्योगीले ल्याबमा बस्ने कर्मचारीलाई विभागको उच्च नेतृत्वले विशेष निगरानी गर्नुपर्ने बताएका छन् । काँचो चुनढुंगा प्रतिकेजी एक रुपैयाँमा उद्योगमा आइपुग्छ ।

तर, त्यसलाई पकाउँदा प्रतिकेजी १३ रुपैयाँ खर्च लाग्छ । चुनढुंगा नपकाइकन १० प्रतिशत मात्रै मिसाइदियो भने उसको सिमेन्ट सस्तोमै बजारमा आउँछ । अहिले धेरै उद्योगले यसै गरेर सिमेन्ट उत्पादन गरिरहेको र विभागको ल्याबमा बस्ने कर्मचारीलाई कारबाही गर्न समेत उद्योगीले मन्त्रालयसमक्ष माग गरेका छन् ।

आफूलाई शंका लागेपछि केही उद्योगको उत्पादनको नमूना लिएर सिमेन्ट उत्पादनमा अब्बल मानिएका उद्योगको ल्याबमा परीक्षण गर्दा त्यस्तो फेला परेको रिपोर्ट समेत उद्योग मन्त्रालयमा उद्योगीले दिएका छन् ।

आफ्नो ल्याबमा फेल भएको सिमेन्ट सरकारी ल्याबमा पास हुन्छ । आफ्नो ल्याबमा पास भएको नमूना सरकारी ल्याबमा फेल हुन गरेको छ । जबकी सरकारी ल्याबभन्दा उद्योगले राखेको ल्याब अत्याधुनिक छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले आफूसमक्ष कुनै पनि उद्योगीले यस्ताखाले गुनासो नगरेको बताए । बरु आफैले आफू मातहतका कर्मचारी खासगरी ल्याबमा बस्ने कर्मचारीलाई सर्तक गराइरहेको बताए ।

तैपनि हाम्रो ल्याबमा बस्ने कर्मचारीमाथि आरोप लागिसकेपछि आफूले त्यसलाई गम्भीर रुपमा लिएर सुक्ष्म निगरानी अघि बढाउने पुडासैनीले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.