सेयर बजारमा चमक कायमै, यस्ता छन् लगातार बढ्नुका कारण

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ। योसँगै पछिल्लो ६ कारोबारमा सेयर बजार उकालो लाग्ने क्रमले पनि निरन्तरता पाएको छ।

आज बजार ५५.५ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २८३७.६१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ९.४६ अंकले बढेर ५३०.४६ को विन्दु पनि पुगेको छ। कारोबार रकम बढेर पौने ८ अर्ब रुपैयाँ बढीको भएको छ।

बजार जानकार प्रेम ओली सबै कुरा सकारात्मक रहेकै कारण बजार बढेको बताउँछन्। ‘बैंकमा तरलता संकटका बाबजुद पनि सेयर बजार बढेको छ’, उनले भने, ‘यसले बजार आफ्नै लयमा चलिरहेको देखिन्छ।’

अर्कोतिर बजार लगातार बढ्नुले लगानीकर्ताबीच केही अन्यौलता पनि देखिने ओली बताउँछन्। ‘आज कारोबार र सूचक दुवै बढेकोले बजार अझै केही दिन बढ्न सम्भावना छ’, उनले भने।

ओलीका अनुसार बैंकरहरुले तिहारपछि तरलता सहज हुने भनेकाले पनि बजार सकारात्मक बनेको हुन सक्छ। ‘बजार सधैँ बढ्ने र घट्ने हुँदैन’, उनले

भने, ‘बजार तलमाथि गर्दै बढ्नु बजारको सामान्य नियम नै हो, त्यसैले बजारको लयअनुसार चल्न लगानीकर्ताले जान्नुपर्छ।’

सक्रिय लगानीकर्ता पवर्त बिष्ट पछिल्लो समय बजारमा नियामकबाट सकारात्मक खबर आउन सक्ने भन्ने हल्लाले बजार बढेको हुन सक्ने बताउँछन्। ‘मौद्रिक नीतिमा पुँजीबजारसम्बन्धी नीतिमा परिमार्जन, सरकारी खर्च पनि बढ्नु, अर्थमन्त्रीले पुँजी बजारमा सबैलाई समेट्ने प्रतिबद्धता र आन्तरिक सूचनाका कारण पनि बजार सकारात्मक बनेको हो’, उनले भने, ‘यिनै कारणले सेयर धितो कर्जाको सीमामा संशोधन हुन सक्ने आशाले ठूला लगानीकर्ताहरु पनि विस्तार बजार प्रवेश गरेको देखिन्छ।’

बिष्टले बजार अब २८८० देखि २९०० सम्म पुगेर करेक्सन आउन सक्ने अनुमान गरे।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ।

यो दिन विकास बैंक समूह सर्वाधिक ६.५४ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह ५.९६ प्रतिशतले बढेको आज होटेल तथा पर्यटन समूहमा ५.२९ प्रतिशत, जलविद्युत समूहमा ५.५ प्रतिशत, वित्त समूहमा ३.५७ प्रतिशत, निर्जीवन बीमा समूहमा ४.८३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ५.०२ प्रतिशत, अन्य समूहमा ०.१४ प्रतिशत, लघुवित्त समूहमा २.६ प्रतिशत, जीवन बीमा समूहमा १.४७ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.५९ प्रतिशत र लगानी समूहमा ३.१४ प्रतिशतले बढेको छ।

आज बैंकिङ समूहमात्रै ०.१६ प्रतिशतले ओरालो लागेको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३२ कम्पनीका १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता सेयर ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९३ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन आँखुखोला जलविद्युतको सर्वाधिक ३१ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको २८ करोड ३ लाख रुपैयाँबराबरको कारोबार भएको आज एभरेष्ट बैंकको २७ करोड ७९ लाख रुपैयाँ, सिद्धार्थ बैंकको २४ करोड ३५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २२ करोड ९३ लाख रुपैयाँ, अपी पावरको २२ करोड ७४ लाख रुपैयाँ, एनआईसी एसियाको १९ करोड ७० लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको १७ करोड ६७ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १७ करोड ५९ लाख रुपैयाँ र नेसनल हाइड्रोपावरको १६ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज १० वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। युनाइटेड इन्स्योरेन्स, चन्द्रागिरी हिल्स, सामुदायिक लघुवित्त र हिमालयन ऊर्जा विकासको सेयरमूल्यमा १० प्रतिशत तथा लुम्बिनी विकास बैंक, पाँचथर पावर कम्पनी, साहस ऊर्जा, रैराङ हाइड्रोपावर, कामना सेवा विकास बैंक र सानिमा माई हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

आज सबैको लघुवित्त र सिजर्नी पावरको सेयरमूल्यमा ९ प्रतिशत बढीको बढोत्तरी भएको छ।

यो दिन एभरेष्ट बैंकको सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउ ६.५ प्रतिशतले घटेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.