सौर्य ऊर्जाले खानेपानीको सुविधा, फेरियो दैनिकी

काभ्रे । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–११ तार्केन्टारका बासिन्दाले सोचेका पनि थिएनन्, करीब १०० मिटर तलको पानी गाउँका घरघरमा आउला भनेर । तर प्रविधिले वर्षौंदेखि खानेपानीको दुःख झैल्दै आएका उनीहरुले नसोचेको काम सफल भएपछि निकै खुशी छन् ।

त्यसो त, सोलार (सौर्य ऊर्जा) लिफ्टिङ प्रविधिबाट खानेपानी योजना सम्पन्न भएपछि अहिले यहाँका बासिन्दाको दैनिकी फेरिएको छ । पिउन, घरधन्दा तथा नुहाइधुवाइ गर्न दिनभरजसो एक घण्टाको उकालोमा पानी बोक्नुपर्ने बाध्यता हटेको छ भने ट्याङ्कीबाट ‘ओभर–फ्लो’ पानीले घरबारीमा तरकारी उब्जनी गर्न मद्दत पुगेको छ ।

स्थानीय मैती तामाङ भन्छिन्, “नौलो प्रविधिले दिनभर उकालोमा पानी बोक्नुपर्ने बाध्यता हट्यो, आफ्नै घरघरमै पानी आउँदा निकै हर्षित छौँ ।” उनले घरमा प्रयोग गरिएको पानी र ट्याङ्कीबाट बढी भएको पानीले तरकारीमा लगाई स्वच्छ तरकारी खेती गर्न सकिने बताइन् ।

गाउँका सबैको घरमा पानी उपलब्ध भएपछि बिहान सबेरै उठेर पानी लिन खोला धाउनुपर्ने बाध्यता हटेको स्थानीय मैते तामाङले बताए । उनले भने, “परिवारको एक जनाले त दिनभर पानी बोक्नैपर्ने हुन्थ्यो ।” अरनिको राजमार्गबाट नजिकै देखिने तार्केन्टार गाउँका १७ परिवारले अहिले वर्षौंँदेखिको खानेपानीको समस्या समाधान भएको छ ।

नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले भन्नुभयो, “सौर्य ऊर्जाले विकट गाउँमा खानेपानी व्यवस्थापन सम्भव भयो, अब यस्तो प्रविधिबाट अन्य गाउँमा विस्तार गर्छौं ।” यहाँ खानेपानी व्यवस्थापनका लागि गाउँभन्दा ९१ मिटर तल इनार बनाई सौर्य ऊर्जाबाट लिफ्टिङ गरी दैनिक नौ हजार ८५० लिटर पानी जम्मा गरिएको छ ।

खोनेपानी आयोजनाका लागि नगरपालिका कार्यालयको पाँच लाख, सोलार कार्यक्रमको पाँच लाख १५ हजार, रिमरेकको एक लाख ४४ हजार र समुदायको दुई लाख ६४ हजार जनश्रमदान तथा ६० हजार नगदबाट निर्माण सम्पन्न भएको हो ।

शुरुमा समुदायले त्यति तलको पानी माथि ल्याउन सकिन्छ भनेर कल्पना गर्न सकेका थिएनन् । सोलार मुसका इञ्जिनियर कृष्ण अधिकारीले भने, “पहिला हामीले यहाँका मानिसलाई प्रविधिबारे जानकारी र अन्य स्थानको अनुभव सुनाएपछि विश्वास गर्नुभयो ।”

उनका अनुसार समुदायले १५ रोपनी जमीनमा थोपा सिँचाइ प्रविधि प्रयोग गरी तरकारी खेती गर्न सक्नेछन् । खानेपानी योजनाको मर्मत–सम्भारका लागि प्रतियुनिट १५ का दरले कोष जम्मा गर्ने नीति बनाइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.