स्याङ्जाको पर्यटकीय विकासका लागि गुरुयोजना

स्याङ्जाको पर्यटकीय विकासका लागि गुरुयोजना

आर्थिक समाचार

वैशाख १४,काठमाडौँ।

पोखरासँग जोडिएको प्राकृतिक एवम् ऐतिहासिक सम्पदाले भरिपूर्ण स्याङ्जालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न जिल्ला पर्यटन विकास समितिका साथै अन्य पर्यटन सम्बद्ध सङ्घ संस्था सक्रिय बनेका छन् ।
सम्भावना भएर पनि पूर्वाधार विकास एवम् प्रचारप्रसारको अभावका कारण जिल्लाका पर्यटकीयस्थल ओझेलमा परेका भन्दै पर्यटन गुरुयोजनासँगै पूर्वाधार विकासलाई अघि बढाइएको छ ।
पोखरासँग जोडिएको र पोखराबाट सुनौलीसम्म (भारतीय सीमा) जाने सिद्धार्थ राजमार्ग स्याङ्जाको मध्य भाग भएर जानुले पनि यस जिल्लाको पर्यटकीय विकासका धेरै सम्भावनालाई थप उजागर गरेको छ । जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठ पछिल्लो समयमा घरवास पर्यटनमा अग्रणी स्याङ्जा मध्य पहाडी भेगमा पदयात्रा पर्यटनमा समेत नमुना जिल्लाको रुपमा स्थापित हुँदै गएको बताए ।
परम्परागत संस्कृति, ऐतिहासिकस्थलका साथै प्राकृतिक सुन्दरताका कारण जिल्लामा पर्यटकीय सम्भावना रहेको र गुरुयोजना अनुसार यहाँको पर्यटकीय विकासलाई अघि बढाउने उनको भनाइ छ । यहाँका चामथुम्का, स्वरेक मैदान र खिलुङलगायत ठाउँ प्याराग्लाइडिङका लागि उपयुक्त स्थल हुन् ।

यस्तै कालीगण्डकीको राम्दीदेखि केलादीघाटसम्मको खण्ड जलयात्राका लागि उपयुक्त रहेको छ । केलादीघाट, रामघाट, सेतीवेणी, रामदीघाट, छायाँ क्षेत्र, श्रवणकुमार समाधिस्थल, सतौँचन्डी धार्मिक पर्यटनका गन्तव्य हुन् । घरबास पर्यटनको सम्भावना समेत अत्यधिक छ ।
ग्रामीण पर्यटनमा रुची राख्ने जो कोही पर्यटकका लागि यहाँका सिरुबारी, मैदान, घुरुङखा, खिलुङ, बोझाकोट, दाङसिङ, खर्सु, पित्लेक, बुढाकोट, पोखरीछाप चन्द्रकोट, गमडाँडा, आलमदेवी, चित्रे बलिकोट, पुर्कोट, दामाचौर, लामडाँडा, बकादी आदि गाउँ आकर्षक गन्तव्य हुन् । पदयात्रा पर्यटनका लागि पनि महत्वपूर्ण गन्तव्यका रुपमा विकास गर्न सकिने यहाँका थुप्रै पदमार्गको विकास तथा विस्तार आवश्यक रहेको स्थानीय समाजसेवी एवम् चाँदनी बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष विश्वेश्वरप्रसाद रेग्मी बताउँछन ।
सन् २००० बाट सञ्चालनमा आएको मिलेनियम ट्रेक छ रात सात दिनको विशिष्ट पदमार्ग हो । तनहुँको दुलेगौंडाबाट सुरु भई स्याङ्जाको मनकामना आई टुङ्गिने सो पदमार्गले मध्य स्याङ्जाका कोल्मा बराह चौर, बहाकोट, राङभाङ, पेल्काचौर, बानेथोक देउराली, माझकोट, शिवालय र मनकामनालाई समेटेको छ ।
यहाँको अर्को पदयात्राको गन्तव्य रानीमहल ट्रेक हो । स्याङ्जाको सिरुबारी हुँदै पाल्पाको श्रीनगरमा पुगी टुङ्गिने उक्त मार्गले पश्चिम स्याङ्जाका पञ्चमूल आरुचौर, रापाकोट, ढापुक सिमल भञ्ज्याङ, कालीकोट, सिर्सेकोट, पिङ्डिखोला, निवुवा खर्क, श्रीकृष्ण गण्डकी, बिर्घा र आलमदेवीलाई समेटेको छ ।
कृषिजन्य उत्पादन हुने स्याङ्जालाई कृषि र पर्यटनसँग जोड्न सकिने पर्याप्त सम्भावना रहेका सादीखोलाका कृषक गगन रानाले बताए । युवालाई कृषि पेसातर्फ उत्प्रेरित गरेर आयआर्जनका साथै युवा जनशक्ति स्वदेशमा नै खपत गर्ने वातावरण तयार गर्नुपर्नेमा उनले जोड दिए । पर्यटकलाई स्थानीय उत्पादनको स्वाद र कृषिमा भइरहेका प्रगतिको अवलोकन गराएर कृषि र पर्यटनलाई सँगसँगै लैजाने सम्भावना छ ।
जिल्लामा धान, मकै, कोदो, गहुँ, फापर, अदुवा, कफीका साथै सुन्तला, जुनार, आँप, केरा, लिची, कटर, कागती, आरु, नास्पाती, आरुबखडाजस्ता फलफूलको राम्रो सम्भावना रहेको छ । जिल्लाभित्र गुरुङ मगर जातिमा रोधी, सोरठी, घाटु नृत्य, नेवार जातिमा लाखे, गाई जात्रा र बाहुन क्षेत्रीका भजनकीर्तन आदिलगायतका आफ्नै मौलिक लोक संस्कृति विद्यमान छन् ।
स्याङ्जामा रहेको ऐतिहासिक भिरकोटे राजाको दरबारलाई ऐतिहासिक सङ्ग्रहालयको रुपमा विकास गर्न सकिने सम्भावना छ भने विश्व युद्धमा ज्यान गुमाएका हजारौँ वीर गोर्खा सैनिकको स्मृतिमा साल्मे डाँडामा निर्माणाधीन गोर्खा स्मारक अर्को ऐतिहासिक गन्तव्य बन्दै गएको छ । पर्यटकीय गुरुयोजनाका साथ विकासका लागि अग्रसर भए यहाँका विकासका सम्भावनालाई थप उजागर गर्ने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलिया बताउँछन ।
“पर्यटकीय विकासका लागि सर्वप्रथम स्थानीय सरोकारवाला निकायको सक्रियता आवश्यक छ,” उनले भने ।