हिमाल आरोहणका लागि ३६४ जनाले अनुमति लिए, चार करोड ३३ लाख रुपियाँ राजस्व संकलन

यस वर्षको शरद ऋतुमा विभिन्न सातवटा हिमाल आरोहणका लागि ५० मुलुकका ३६४ जनाले अनुमति लिएका छन् ।

हालसम्म सगरमाथा, धवलागिरि, हिमलुङ, मनास्लु, नुप्से, कुम्भकर्ण र सरिबुङका लागि आरोहण अनुमति जारी गरिएको छ । पर्यटन विभागको पछिल्लो तथ्याङ्कअनुसार ३६ समूहका आरोहीले अनुमति पाएका छन् । अनुमति पाउनेमा २७८ पुरुष र ८६ जना महिला आरोही छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकी नागरिक छन् । ३५ जना पुरुष र १२ जना महिला गरी कुल ४७ जना अमेरिकी आरोहीले अनुमति लिइसकेका छन् ।

त्यसैगरी धेरै अनुमति लिनेमा भारत २७, इरान २२, स्पेन २०, अर्जेन्टिना १७, फ्रान्स १७, रसिया १५, बेलायत १४, चीन १२, इटाली १२, जर्मनी १२, यूएई १०, पोल्यान्ड १० र मेक्सिकोबाट १० जना रहेका छन् । यस सिजनमा आरोहण अनुमतिबापत सरकारलाई चार करोड ३३ लाख रुपियाँ राजस्व प्राप्त भएको छ । कोरोना संक्रमणपछि आरोहणतर्फ पर्यटकको चासो बढेको देखिएको छ । पछिल्लो समय आरोहणको अनुमति लिनेको संख्याको आधारमा यो वर्ष अघिल्लो सिजनमा बढी पर्यटक हिमाल चढ्ने अनुमान गरिएको छ । आरोहीहरू आरोहण नभएका हिमालतर्फ पनि बढी आकर्षित हुन थालेको विभागको भनाई छ ।

विभागको तथ्याङ्कअनुसार गत वर्ष शरद ऋतुमा नेपालसहित ६७ देशका ८३ समूहले २८ हिमाल आरोेहणका लागि अनुमति लिएका थिए । गत वर्ष आरोहण अनुमति लिनेमा ५३२ विदेशी पुरुष र ११५ जना विदेशी महिला थिए । गत वर्ष हिमाल आरोहणबाट सरकारलाई चार करोड ६७ लाख आठ हजार ७२२ रुपियाँ राजस्व प्राप्त भएको थियो । विभागका अनुसार यो वर्ष सबैभन्दा बढी आकर्षण आठ हजार १६३ मिटर उचाइको मनास्लु हिमालमा देखिएको छ ।

यो सिजनमा आरोेहण अनुमति लिएका ३६ समूहमध्ये मनास्लु आरोहणमा मात्रै २९ समूहले अनुमति लिएका छन् । मनास्लु आरोहण यो वर्ष २५५ पुरुष र ८२ जना महिलाले अनुमति लिएका छन् । मनास्लुबाट मात्रै यो सिजनमा तीन करोड ७२ लाख ३८ हजार रुपियाँ राजस्व संकलन भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.