१० वाणिज्य बैंकको वितरणयोग्य नाफामा गिरावट, ५ वटाको ऋणात्मक

सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् । चैत महिनासम्मको वित्तीय अवस्था हेर्दा बैंकहरुको लाभांश दिन सक्ने क्षमता निकै न्यून देखिएको छ । १० वटा बैंकको वितरणयोग्य नाफा गत वर्षको तुलनामा घटेको छ भने ५ वटा बैंकको ऋणात्मक छ । ६ वटा बैंकको मात्रै वितरणयोग्य नाफा बढेको छ ।

कुन बैंकको बढ्योकुनको घट्यो ?

वितरणयोग्य नाफा बढाउने बैंकमा लक्ष्मी, सानिमा, स्ट्यान्डर्ड चार्टर्ड, एभरेस्ट, एनआईसी एसिया र राष्ट्रिय वाणिज्य बैंक छन् ।

वितरणयोग्य नाफा घटेका बैंकमा ग्लोबल आईएमई, एनएमबी, कुमारी, माछापुच्छे«, नेपाल बैंक, सिटिजन्स बैंक, नेपाल एसबीआई, कृषि विकास, नबिल र प्राइम बैंक छन् ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार लक्ष्मी बैंकको वितरणयोग्य नाफा १०२.७३ प्रतिशतले बढेर १ अर्ब ३३ करोड ५८ लाख रुपैयाँ पुगेको छ । यस्तै सानिमा बैंकको वितरणयोग्य नाफा ६४.७५ प्रतिशतले बढेर १ अर्ब २० करोड ४७ लाख पुगेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैकको ४१.९८ प्रतिशतले बढेर २ अर्ब ५६ करोड ५९ लाख, एभरेस्ट बैंकको २०.२८ प्रतिशतले बढेर ३ अर्ब ३६ करोड ३३ लाख, एनआईसी एसिया बैंकको १.३० प्रतिशतले बढेर ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको ५९.९० प्रतिशतले बढेर २ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

यस्तै वितरणयोग्य नाफा घटेका बैंकमा ग्लोबल आइएमई बैंकको ४९.८३ प्रतिशतले घटेर ९६ करोड २६ लाख रुपैयाँ छ । त्यस्तै एनएमबी बैंकको ४५.१५ प्रतिशतले घटेर ७२ करोड ८८ लाख, कुमारी बैंकको ९९.७१ प्रतिशतले घटेर २४ लाख ८६ हजार, माछापुच्छे« बैंकको ४२.६१ प्रतिशतले घटेर ४६ करोड ८५ लाख र नेपाल बैंकको ९३.३१ प्रतिशतले घटेर वितरणयोग्य नाफा १८ करोड ७ लाख ६४ हजार रुपैयाँमा झरेको छ ।

यस्तै सिटिजन्स बैंकको ८३.४४ प्रतिशतले घटेर १४ करोड ३४ लाख, नेपाल एसबीआई बैंकको २५.१० प्रतिशतले घटेर १ अर्ब १६ करोड ७५ लाख, कृषि विकासको ७९.६२ प्रतिशतले घटेर ५८ करोड ४३ लाख ४८ हजार, नबिल बैंकको १९.६२ प्रतिशतले घटेर १ अर्ब ७७ करोड २० लाख रुपैयाँ र प्राइम बैंकको वितरणयोग्य नाफा ७८.६८ प्र्रतिशतले घटेर ३० करोड १५ लाख २० हजार रुपैयाँ छ ।

वितरणयोग्य नाफा ऋणात्मक रहेका ५ बैंक

चैत मसान्तसम्म ५ वटा वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । ऋणात्मक नाफा हुनेमा प्रभु बैंक, हिमालयन बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, सनराइज र सिद्धार्थ बैंक छन् । प्रभु बैंकको वितरणयोग्य नाफा १८ करोड २९ लाख ५६ हजार रुपैयाँ ऋणात्मक छ ।

यस्तै हिमालयन बैंकको १ अर्ब ३२ करोड २९ लाख, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १ अर्ब २७ करोड ९६ लाख, सनराइज बैंकको ४ करोड ८३ लाख ५३ हजार र सिद्धार्थ बैंकको ४५ करोड ६६ लाख ४१ हजार रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.