केही महिनामै हजारौं नयाँ स्टार्टअप र उद्यमशीलता सुरु हुँदैछन् : प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री पुष्पमल दाहालले हजारौं नयाँ स्टार्टअप र उद्यमशीलता केही महिनामैं सुरु हुने बताएका छन्। बुधबार विश्वासको मत लिनुअघि प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। ‘म सम्मानित संसद्लाई विश्वास दिलाउँछु हजारौं नयाँ स्टार्टअप र उद्यमशीलता केही महिनामैं सुरु हुनेछन्,’ दाहालले भने, ‘आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ। म सरकारलाई तथ्यांक केन्द्रित गर्नेछु।’

प्रधानमन्त्री दाहालले देशमा महामारीका रुपमा फैलिएको पलायन र निराशालाई रोकेर सुशासनमा अहिलेसम्म भएका प्रयासलाई थप बढाउँदै लग्ने बताए। ‘सार्वजनिक सेवा प्रवाह र सुशासनबाट नागरिकमा राज्यप्रति भरोसा जगाइनेछ,’ दाहालले भने, ‘सुस्त कर्जा प्रवाह, मध्मवर्गीय उपभोगमा आएको गिरावट र पुँजीगत खर्चको न्यूनता अन्त्य गर्न नीतिगत सुधार गरिनेछ।’

दाहालले बैंक तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैंहरूको आधार ब्याजदर एकल अंकमा पुगेको र ऋणको ब्याजदर पनि घटेको उल्लेख गरे। ‘भारत भ्रमणका क्रममा दश वर्षमा दश हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्यका साथ दिर्घकालीन जलविद्युत् सम्झौताको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको छ,’ दाहालले भने, ‘हाम्रो समृद्धिका लागि यो नेपाली इतिहासकै सबैभन्दा ठूलो र दूरगामी महत्त्वको सहमति हो भन्ने मेरो विश्वास छ। भारतसँग मात्रै नभएर बंगलादेशसँग पनि हामी विद्युत् व्यापारको नजिक पुगेका छौँ’ उनले भने। प्रधानमन्त्री दाहालले नेपालबाट बंगलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने पनि बताए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.