चितवनका केराले पाउन थाल्यो बजार

पूर्वी चितवन रत्ननगरका केरा व्यवसायी बाबुराम भट्ट अहिले निकै हर्षित छन् । विगतमा आफूले लगाएको केराले बजार पाउन नसके पनि अहिले आएर केराले बजार पाउन थालेपछि उनी आफ्नो व्यवसायमा उत्साहका साथ लागेका छन् ।

उनले अहिले १२ बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका छन् । उनले भने, ‘विगत एक महिना अघिसम्म बिक्रीका लागि कठिन थियो । अहिले बजार राम्रो छ ।’ यहाँको केराले बजार धान्ने अवस्था रहँदा पनि भारतीय केरा आउने क्रम नरोकिएकाले मूल्यमा भने अघिल्ला वर्षको तुलनामा केही फरक भएको उनले बताए ।

केरामा नै भविष्य देखेर व्यावसायिक बन्नुभएका भट्ट अहिले आफ्नो उत्पादन दैनिक चितवनसहित काठमाडौँ, पोखरा र बुटवल जाने गरेको बताउँछन् ।

अझै थप पाँच बिघा क्षेत्रफलमा केरा खेती विस्तारका लागि काम गर्दै आएको उनले सुनाए । केराले बजार पाउन थालेपछि यहाँका अर्का केरा उत्पादक किसान सागर भट्टराईले अहिलेको बजार देख्दा यस व्यवसायमा लाग्न उत्साह बढेको बताए ।

भारतीय केराका कारण यहाँको उत्पादन विस्थापित हुने हो की भन्ने चिन्ता रहँदै गर्दा अहिले आएर नेपाली केराले बजार पाउन थालेपछि आफूहरुलाई राहत मिलेको उनको भनाइ थियो ।

रत्ननगरका विष्णुप्रसाद काप्रीले हाल केराको बजार राम्रो भएको अवस्थामा खडेरीका कारण उत्पादन भने घटेको बताए । उनले भने, ‘सिँचाइ सुविधा भएको ठाउँमा त ठिकै होला तर हामीजस्ता १(२ बिघा क्षेत्रमा केरा लगाउने किसानलाई खडेरीले असर गरेको छ ।’

केरामा मल हाल्नका लागि आकाशे पानी कुरेर बस्न परेको उनको भनाइ थियो । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधव घिमिरे भने चितवनको केरा बजारमा पहिलेको भन्दा केही सुधार भए पनि उत्साह भने भई हाल्ने स्थिति नभएको बताउँछन् ।

यहाँ उत्पादन भएका मालभोग र जी नाइन जातका ठूला साइजका सग्ला केरा बिक्रीमा समस्या नभए पनि साना साइजका केरा भने नबिकेको उनको भनाइ छ ।

लगातार परेको खडेरीले गर्दा उत्पादनमा पनि समस्या रहेको भन्दै उनले भने, ‘धेरै साथीहरुले भाडामा जग्गा लिएर खेती गर्नुभएको छ । सबैको सिँचाइको लागि बोरिङ हाल्ने स्थिति पनि छैन ।’

भारतीय केरा नआउने हो भने यहाँ उत्पादन भएका सबै साइजका केरा बिक्रीमा समस्या नहुने र केराले मूल्यसमेत बढी पाउने उनको भनाइ थियो ।

जिल्लामा विशेषगरी जी नाइन र मालभोग केरा उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित दुवै केराले बजार पाएसँगै व्यवसायी उत्साहित भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाइ केरा जोनका संयोजक विष्णुहरि पन्तले जानकारी दिए ।

यद्यपि, लगातारको खडेरी, हावाहुरी र रोगकीराका कारण केराखेतीमा समस्या रहिनै रहेको र बजारीकरणमा भारतीय केराको मारबाट यहाँका किसान थप समस्यामा पर्ने गरेको उनले बताए ।

कार्यान्वयन एकाइका सूचना अधिकारी इन्द्रप्रसाद ढुङ्गानाले जिल्लामा हाल २२ हजार पाँच सय हेक्टर क्षेत्रफलमा केरा खेती गरिँदै आएको बताए । उनले यो याममा जिल्लामा वार्षिक रुपमा उत्पादित केराको २५ प्रतिशत बजारमा आउने गरेको उनले जानकारी दिए ।

यस समयमा नेपाली केराले बजार धान्ने उनको भनाइ थियो । उनका अनुसार जिल्लामा वार्षिक ५६ हजार चार सय ४८ मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.