मासिक सवा खर्बको आयात हुँदा साढे १२ अर्बमात्र निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को नौ महिनामा मासिक औसत १ खर्ब २९ अर्ब रुपैयाँबराबर वस्तु आयात भएको छ । तर, निर्यात भने साढे १२ अर्ब रुपैयाँमा सीमित छ ।

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैतसम्म ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँबराबर वस्तु आयात भएको छ । जुन औसत मासिक १ खर्ब २९ अर्ब हुन आउँछ । चैतमा मात्र १ खर्ब ३७ अर्ब १४ करोड रुपैयाँबराबर आयात भएको छ ।

पछिल्ला केही महिनायता आयात क्रमशः बढ्दै गएको देखिन्छ । फागुनमा १ खर्ब ३३ अर्बको वस्तु आयात भएको थियो । चाडबाडका बेला केही बढेको आयात त्यसपछि खुम्चिन थालेको थियो ।

गत असोजमा १ खर्ब ४८ अर्बको वस्तु आयात भएको थियो । चैतसम्मको तथ्यांकअनुसार आयात २.८४ प्रतिशतले खुम्चिएको छ । गत वर्ष चैतसम्म १२ खर्ब १ अर्बबराबर आयात भएको थियो ।

यस वर्ष निर्यात औसत मासिक १२ अर्ब ६६ करोडबराबर मात्र भएको छ । तथ्यांकअनुसार नौ महिनामा १ खर्ब १३ अर्ब ९४ करोडबराबर भएको छ ।

तथ्यांकअनुसार निर्यातको तुलनामा नेपालको आयात आकार ९१ प्रतिशतभन्दा माथि छ । कुल वैदेशिक व्यापारमा आयात हिस्सा ९१.११ र निर्यात हिस्सा ८.८९ प्रतिशत छ ।

खुम्चियो कुल वैदेशिक व्यापार र व्यापार घाटा

आयात र निर्यात दुवैमा आएको कमीले यस वर्ष कुल वैदेशिक व्यापार र व्यापार घाटा दुवैमा कमी आएको छ ।

भन्सार विभागका अनुसार चैतसम्म कुल वैदेशिक व्यापार १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ छ । यो गत वर्ष यसै अवधिको तुलनामा २.९२ प्रतिशतले कम हो । अघिल्लो वर्ष चैतसम्म १३ खर्ब १९ अर्बबराबर कुल वैदेशिक व्यापार थियो ।

विभागका अनुसार व्यापार घाटा १० खर्ब ५३ अर्ब छ । यो गत वर्षको यसै अवधिको तुलनामा २.७५ प्रतिशत कम हो । गत वर्ष व्यापार घाटा १० खर्ब ८३ अर्ब रुपैयाँ कम हो । नौ महिनामा भन्सारले ३ खर्ब ६ अर्बबराबर भन्सार राजस्व उठाएको छ ।

पेट्रोलियम पदार्थ आयात २ खर्ब ४६ अर्ब

तथ्यांकअनुसार पेट्रोलियम पदार्थ आयात परिमाण नौ महिनामा साढे २ खर्ब पुगेको छ । नेपालमा कुल निर्यातको तुलनामा पेट्रोलियम पदार्थको आयात निकै माथि पुग्ने गर्छ । आइरन र स्टिल आयात ९७ अर्ब २४ करोड पुगेको छ ।

यस अवधिमा ७६ अर्ब १९ करोड रुपैयाँबराबर विद्युतीय सामग्री र उपकरण आयात भएको छ । तरकारीजन्य वस्तु आयात २२ अर्ब ८७ करोडबराबर देखिएको छ ।

भारतसँग सबैभन्दा धेरै व्यापार

नेपालले १ सय ५० भन्दा धेरै देशसँग वैदेशिक व्यापार गर्दै आएको छ । त्यसमध्ये भारतसँग सबैभन्दा धेरै व्यापार छ । तथ्यांकअनुसार भारतबाट ७ खर्ब २९ अर्ब ६५ करोडको आयात भएको छ ।

नेपालबाट भारततर्फ ७७ अर्ब ८५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । भारतसँग व्यापार घाटासमेत ठूलो देखिन्छ । ऊसँग ६ खर्ब ५१ अर्ब रुपैयाँबराबर व्यापार घाटा छ ।

त्यस्तै चीनसँग पछिल्लो समय नेपालको आयात र निर्यात दुवै सुधार भइरहेको छ । चीनबाट २ खर्ब १६ अर्बको सामान आउँदा नेपालबाट २ अर्ब ११ करोडको वस्तु निर्यात भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.