सुनकोशी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, भोली ब्रेक थ्रु हुने

राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । सुरुङ निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले भोली वैशाख २६ गते एक समारोहका बीचमा स्विच थिचेर ब्लास्टिङ गरेर सुरुङमार्ग ब्रेक थ्रु गर्ने कार्यक्रम रहेको छ ।

नेपालको कृषि क्षेत्रमा भरपर्दो सिँचाइ, विद्युत् उत्पादन तथा तराई मधेशका जिल्लाहरूमा बढ्दो खानेपानीको समस्याको समाधान गर्नमा आयोजनाको निर्माणले ठूलो मद्दत पुग्ने विश्वास आयोजनाको लाभान्वित क्षेत्रका स्थानीय बासीको रहेको छ । अहिले बागमती सिँचाइ योजनाले सर्लाही तथा रौतहट जिल्लाका ४५ हजार ६०० सय हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ गर्ने गरिएको छ ।

आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएपछि मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट तथा बारा जिल्लाका १ लाख २२ हजार हेक्टर कृषि योग्य भूमिमा बाह्रै महिना सिँचाइ सेवा पुग्ने भएको आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए । मधेश प्रदेशको कृषि क्षेत्रका लागि बरदान मानिएका आयोजनाको सम्पूर्ण कार्य पुरा गर्नमा अझै केही वर्ष लाग्ने छ ।

सुनकोसी मरिण डाइभर्सन आयोजना अन्तर्गत १३.३ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भएको छ । सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) विधिको प्रयोग गरेर गरिएको छ । सुरुङ निर्माणसँगै बाँध निर्माणको कामलाई गति दिने काम भएको छ । २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कूल १३.३ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भएको छ ।

तर बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकिएको छैन । निर्माण व्यवसायीले काम गरिरहेको भए पनि बाँध निर्माणमा अपेक्षित प्रगति भएको छैन । विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ ।

सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. २ कुसुमटारस्थित मरिण खोलामा खसालिने छ । त्यसपछि वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने तथा खानेपानी आवश्यक भएको खण्डमा शुद्धीकरण गरेर मधेश प्रदेशका खानेपानी अभाव भएको ठाउँमा वितरण पनि गर्न सकिनेछ ।

बहुउद्देश्यीय आयोजना भएकाले आयोजनाबाट ३१.०७ मेगावाट बिजुली उत्पादन हुनेछ । यसले देशको आर्थिक विकासमा टेवा पुग्ने आशा आयोजनाको रहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.