सोह्रौं योजना कृषिदेखि रोजगारी वृद्धिसम्ममा केन्द्रितः प्रधानमन्त्री

काठमाडौं। सिंहदबारमा राष्ट्रिय विकास परिषद् बैठक बसेको छ। बैठक उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोह्रौं योजना कृषिको व्यवसायिकीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा केन्द्रित हुने जानकारी दिए।

सोह्रौं योजनामा एकीकृत पूर्वाधार निर्माण, सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिइएको उनको भनाइ छ।

‘पर्यटन प्रवर्द्धन र आन्तरिक रोजगार अभिवृद्धि एवं एकीकृत बस्ती विकासमा उच्च प्राथमिकता दिनुपर्नेछ। यसका लागि योजनाले स्वदेशी तथा वैदेशिक लगानी अभिवृद्धिसहित युवा केन्द्रित सुअआती पुँजी लगानीमार्फत नवीनता र उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ,’ उनले भने।

आर्थिक समृद्धिको संवाहकका रूपमा निजी क्षेत्रलाई आत्मसात् गर्दै सहकारी, सामुदायिक एवं गैरसरकारी क्षेत्र र विकास साझेदारलाई सहयोगी भूमिकामा योजनाले अंगीकार गरेको उनले उल्लेख गरे।

योजना सफल कार्यान्वयनका लागि तीनै तहका सरकारको सहकार्य, सहयोग र समन्वय अपरिहार्य रहनुपर्ने बताउँदै उनले पर्याप्त लगानी तथा सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्नेमा जोड दिए।

‘योजना अवधिमा विभिन्न स्रोतका साथै निजी क्षेत्रको ठूलो लगानी अनुमान गरिएको छ। यसले लगानी, उत्पादन, उत्पादकत्व र रोजगारी अभिवृद्धि गरी आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने अपेक्षा छ।’

सम्बन्धित
Leave A Reply

Your email address will not be published.