अलैंचीको मूल्य घटेपछि कृषक चिन्तित

कालो हिरा भनेर चिनिने अलैंचीको मूल्य ह्वातै घटेपछि कृषक चिन्तित बनेका छन्। अलैंचीबाट राम्रो आम्दानी गर्दै आएका कृषक केही वर्षदेखि अलैंचीको भाउ घट्न थालेपछि चिन्तित बनेका हुन्। २०७०/०७१ सालमा प्रतिमन ९० हजारदेखि एक लाख रुपैयाँमा बिक्री भएको अलैंची यो वर्ष प्रतिमन २७ हजार रुपैयाँका दरले पनि बिक्री हुन गाह्रो भइरहेको अलैंची व्यवसायी संघका अध्यक्ष छत्रमणि काफ्लेले बताए।

नक्कली अलैंचीको हल्लाको असरले जिल्लाका सक्कली अलैंचीको भाउ घटाएको हुन सक्ने मकालु गाउँपालिकाका-५ का कृषक भरत कटुवालको गुनासो छ। उनले भने,’केही वर्ष अघि प्रतिमन ९० देखि एकलाख रुपैयाँमा किनबेच भइरहेको अलैंची क्रमशः घट्दै प्रतिमन २७ हजारमा झरेको हो। बेंसी क्षेत्रमा अलैंची टिप्ने र सुकाउने काम सकिए पनि बजार भाउ नभएकै कारण नयाँ अलैंची बजारसम्म पुग्न सकेको छैन। पछिल्लो समय धान, कोदो खेती मासेर अलैंचीको आम्दानीले लोभिएका किसान यसपल्ट भाउ नपाउँदा निराश छन्।

अलैंची ब्यवसायी संघका अध्यक्ष काफ्लेका अनुसार किसानले अलैंचीको दाना भट्टीमा सुकाएर तयारी अवस्थामा भण्डारण गरेर राखे पनि हालसम्म संकलक र ठेकेदार खरिद गर्न नआएका  बताए। बेंसी क्षेत्रमा भदौ अन्तिमदेखि नै अलैंची टिप्ने गरिन्छ भने लेक क्षेत्रमा कात्तिक अन्तिमतिर टिप्ने गरिन्छ। बेच्न आफैं शहर लैजाने गरेका कृषक पनि यसपल्ट भाउ नभएकाले अलैंची थन्क्याएर बसेका छन्।

अध्यक्ष काफ्लेले भने, ‘घरैमा आइपुग्ने ठेकेदार अहिलेसम्म अलैंची खरिद गर्न नआएका छैनन्।’ मूल्यमा आएको गिरावटले किसान भन्दा अलैंची संकलक समस्यामा परेको व्यवसायी सुवास कालाखेतीले बताए। ऋण काढेर अलैंची संकलन गर्ने कतिपय संकलक अलैंची किनबेचमा उतारचढाव आउँदा समस्यामा परेको उनको भनाइ छ। ‘किसानलाई चिन्ता छैन। यसपल्ट बिक्री नभए अर्कोपल्ट बिक्री हुन्छ,’ कालाखेतीले भने, ‘तर ऋण लिएर अलैंची संकलन गरेर नाफा कमाउँदै आएका संकलक साच्चिकै समस्यामा परेका छन्।’ तत्कालका लागि बिक्री नभएको अलैंची अर्को पटक बिक्री हुने भएकाले किसानले हार खानुपर्ने अवस्था नभएको उनको भनाइ छ। कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा १२ सय ९८ मेट्रिक टन अलैंची उत्पादन भएको थियो।

यो उत्पादनको आर्थिक मूल्यांकन करिब १५ करोड हुन पुग्छ। यस वर्ष उत्पादन भएका अलैंचीको परिमाणका विषयमा मंसिरमा मात्र टुंगो लाग्ने कृषि विकास अधिकृत रामबहादुर ठाकुरले बताए। अलैंची विशेष गरी मसला, जडीबुटी तथा औषधिका रूपमा प्रयोग हुने गरेको पाइएको छ। अलैंची जिल्लाका १० स्थानीय तहमा व्यवसायिक रूपमा अलैंची खेती हुँदै आएको छ। भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैंची हाल जिल्लाको तीन हजार २५९ हेक्टर क्षेत्रफलमा खेती गरिँदै आएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.