बैंकले ऋण दिन छाडेपछि इँटाको भाउ सस्तीयो, उद्योगको संख्या बृद्धिले प्रतिस्पर्धा पनि बढ्यो

आर्थिक समाचार

धनगढी।

इँटाको मागमा कमी आएपछि मूल्य घटेको छ। दुई वर्षअघि प्रतिहजारको १३ हजार रुपैयाँ मूल्य पर्ने इँटा अहिले घटेर नौ हजारमा आएको सेती इँटा व्यवसायी सङ्घका अध्यक्ष विनोद शाहले बताए।

“भूकम्प आएदेखि नै इँटाको कारोबार बन्द भएको हो,”  उनले भने– “भूकम्पकै कारण नयाँ संरचना निर्माणको काम बन्द भएपछि  माग घटेको हो।”

व्यवसाय जसोतसो चलाउन र उद्योगमा कार्यरत मजदुरलाई ज्यालासम्म दिन पनि अहिले व्यवसायीले लागत मूल्यमा इँटा बिक्री गर्नु पर्ने अवस्था आएको उनले बताए। उत्पादन भएको इँटाको माग घटेपछि यसको बिक्री मूल्यमा निकै कमी आएको अर्का व्यवसायी केशव भट्टले बताए।

बैंक तथा वित्तीय संस्थाले घर जग्गा निर्माणमा ऋण दिन बन्द गरेकाले पनि निर्माण कार्य अपेक्षित रुपमा हुन नसक्दा इँटाको खपत घटेको हो। बैंकले ऋण प्रवाह बन्द गरेपछि व्यवसाय नै सञ्चालन गर्न कठिन भएको भट्टको भनाइ छ।

केही वर्षयता चिम्नी इँटा उद्योग बढ्दै गएसँगै इँटाको उत्पादन परिमाण बढ्दै गएको छ। कैलालीमा मात्रै करिब ४५ वटा चिम्नी इँटा उद्योग रहेको बताइएको छ। यी प्रत्येक उद्योगले वार्षिक ३० लाखदेखि ३५ लाख गोटा इँटा उत्पादन गर्दै आएका छन्।

Leave A Reply

Your email address will not be published.