२५ करोड लगानीमा फन पार्क

भरतपुर,

सहरी कोलाहलबाट केही समय विश्राम लिन बजार क्षेत्रमा उचित गन्तव्यको अभाव थियो। छोटो समयका लागि भए पनि रमाउन जाने वातावरण आवश्यक भएबमोजिम सहरी क्षेत्रमा फन पार्क निर्माण गरिएको हो। २५ करोड रुपैयाँको लगानीमा भरतपुर महानगरपालिका–४ स्थित लंकुमा अन्तर्राष्ट्रियस्तरको जेम्स फन पार्क सञ्चालनको तयारीमा छ।

मनोरञ्जनका साधन र सुविधाका हिसाबले नेपालकै सबैभन्दा ठूलो फन पार्क भएको जेम्स वल्र्ड फन पार्कका अध्यक्ष महेश तिवारीले बताए। ‘सबै खेल भएको पार्क कहिँ पनि भेटिँदैन, हामीले सबैलाई एकै स्थानमा राखेका छौं’, तिवारीले भने, ‘गर्मीको सिजन लामो हुने भएकाले चितवनमा हामीले फार्क केन्द्रित गरेका हौं।’ सबै खेल समावेश भएको फन पार्क नेपालमा अन्त नभएको उनले दाबी गरे।

विश्वमा उत्कृष्ट मानिएका खेलहरू राखिएका छन्। फन पार्क निर्माणका लागि अध्ययन गर्न उनी एक वर्ष चाइना र भारतमा बसेका थिए। फन पार्क सफल भए रिसोर्ट सञ्चालनको तयारी गरेको उनले बताए।

नारायणगढबाट तीन किलोमिटर दुरीमा तीन बिघा क्षेत्रफलमा फन पार्क बनाइएको छ। फन पार्कमा सानादेखि ठूला गरी एक सय खेल समावेश गरिएको छ। सबै उमेर समूहलाई लक्ष्य गरी छुट्टा छुट्टै खेलको व्यवस्था गरिएको छ। जिल्लामा पहिलोपटक ल्याइएको वाटर पार्कलाई विशेष आकर्षणको रूपमा राखिएको छ। वाटर पार्कमा दुई ठूला टनेल छन्। ४३ फिटको उचाइबाट दुई सय ६५ फिट लामो टनेलमा पानीमा रम्दै झर्ने व्यवस्था गरिएको छ। नेपालमा सातदोबाटोमा रहेको स्विमिङ पुल पछिको ठूलो अन्तर्राष्ट्रिय मापदण्डको स्विमिङ पुल निर्माण गरिएको छ। फन पार्क घुम्न कम्तीमा साढे सात घण्टा लाग्ने प्रबन्ध निर्देशक ईश्वर विकल सापकोटाले बताए। ‘विदेशमा जाँदा देखिने मनोरञ्जनका साधन समावेश गरेका छौं’, सापकोटाले भने, ‘कोलाहलबाट हैरान भएकाका लागि लक्ष्य गरिएको छ।’

दुई वर्षे बालबालिकाका लागि पनि अलग्गै स्विमङ पुल छ। बालबालिकाका लागि पानीभित्र जादुमय मल्टिपल प्ले स्टेसन निर्माण गरिएको छ। संसारबाट लोप भएको डाइनोसर प्रजातिबारे जानकारी हुने खालको जुरासिक पार्क बनाएका छन्। पार्कमा भएका सबै खेल खेल्न प्रतिव्यक्ति साढे सात सय रुपैयाँ शुल्क तोकिएको छ। वैशाख १ गतेबाट सञ्चालन गर्ने तयारी गरिएको छ।

भेटघाट ग्रुपको प्रवद्र्धन गरिएको फन पार्कमा प्रयोग भएका सामान चीन, भारत र ताइवानकबाट ल्याइएको हो। चीन र भारतका प्राविधिक आएर निर्माण गरेका हुन्। सुरक्षाका लागि अन्तर्राष्ट्रिय मापदण्ड टीयूभी प्रमाणित गरिएको छ। २०७४ मंसिरबाट निर्माण थालिएको हो। पार्कमा १२ लाख पानी सोस्ने क्षमताको सोक पिट बनाइएको छ। फन पार्कमा रेस्टुरेन्ट, फुड कोर्ट, नर्सिङ स्टेसनसमेत राखिएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.