कृषकलाई हातेट्र्याक्टर वितरण

पोखरा महानगरपालिका कृषि महाशाखाले कृषकलाई ५० प्रतिशत अनुदानमा हातेट्याक्टर वितरण गरेको छ । महाशाखाको चालू आर्थिक वर्षको कृषि यान्त्रिकरण कार्यक्रमअन्तर्गत विनियोजित रु २५ लाख बजेटबाट ६२ कृषि समूह तथा सहकारीलाई हातेट्याक्टर वितरण गर्ने योजनाअनुसार मङ्गलबार ३० समूह, सहकारी तथा कृषि फार्मलाई ट्याक्टर वितरण गरिएको महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

महानगरले ५० प्रतिशत अनुदानमा ट्र्याक्टरवितरणका लागि सार्वजनिक प्रस्ताव आह्वान गरेकामा २२२ कृषक तथा समूहले निवेदन दर्ता गरेकामा प्राथमिकताका आधारमा वितरण गरिएको महाशाखाले जनाएको छ । महानगरका ३३ वडामध्ये २३ ट्याक्टरका लागि माग भएको र बाँकीलाई वितरणको तयारी गरिएको कडरियाको भनाइ छ ।

महानगर प्रमुख मानबहादुर जिसीले यान्त्रिकरणको माध्यमबाट खेती गर्दा कम जनशक्तिको प्रयोगबाट अधिकतम लाभ लिन सकिने भन्दै कृषिलाई यान्त्रिकरण र व्यावसायिक बनाउँदै लैजाने महानगरको योजना रहेको बताए । गुणस्तरीय उत्पादन गरी बजारीकरण गर्ने यहाँको उत्पादनलाई ब्रान्डिङ गरी स्थानीय कृषक तथा उत्पादनलाई प्रवद्र्धन गर्ने योजना रहेको प्रमुख जिसीले प्रष्ट पारे ।

कार्यक्रममा सहभागी ५० कृषकलाई यान्त्रिकरण, सञ्चालन तरिका, अनुदानमा प्राप्त ट्र्याक्टरसहुलियतदरमा अन्य सदस्यलाई दिनुपर्नेलगायतमा अभिमूखीकरण गरिएको थियो । महानगरले यसै वर्षमा कृषकलाई कृषि उपकरण सहजताका लागि सहुलियतदरमा उपलब्ध गराउने उद्देश्यले उपकरण केन्द्र स्थापनाको तयारी गरेको छ ।

लेखनाथ उद्योग वाणिज्य सङ्घसँगको साझेदारीमा कृषकलाई कृषि उपकरण भाडामा उपलब्ध गराउने प्रयोजनका लागि (कस्टम हायारिङ केन्द्र) स्थापना गरिने महानगर प्रमुखका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । यसका लागि चालू आर्थिक वर्षमा रु ४५ लाख बजेट विनियोजन गरिएको उनले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.