१४ करोड लगानीमा मेचीमा ह्याचरी खुल्यो, विद्यालयको जग्गा २१ वर्षका लागि लिजमा लिएर व्यापार

बनियानी।

ब्रोइलर जातको कुखुराका चल्ला उत्पादन गर्ने उद्देश्यले ह्याचरी सञ्चालनमा आएको छ ।

मेची अञ्चलमै पहिलो पटक रु १४ करोडको लगानीमा ‘भाटभटेनी इन्टरनेशनल ह्याचरी प्रालि’ सञ्चालनमा आएको हो । चारजनाको संयुक्त लगानीमा ह्याचरी सञ्चालनमा ल्याइएको सञ्चालक भरत ओडारीले जानकारी दिए।

झापासहित इलाम, तेह्रथुम, ताप्लेजुङ, मोरङ, सुनसरीलगायत जिल्लाका किसानलाई लक्ष्य गरी ह्याचरी सञ्चालनमा ल्याइएको हो । बिर्तामोड–२ स्थित वीर अमरसिंह माविको चार बिगाह दुई कट्ठा जग्गा भाडामा लिएर फार्म सञ्चालन गरिएको छ । त्यहाँदेखि करीब ३०० मिटर टाढा कनकाई–८ मा ह्याचरीको आफ्नै स्वामित्वमा रहेको एक बिगाह ११ कट्ठा जग्गामा चल्ला उत्पादन गर्ने मेसिनसहितको भौतिक संरचना तयार गरिएको अर्का सञ्चालक तारा प्रसाईंले बताए।

“विद्यालयको जग्गा रु ८० हजार वार्षिक भाडा बुझाउने गरी २१ वर्षका लागि लिजमा लिका छौँ,” उनले भने । तीन–तीन वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति भएको छ । हाल यहाँबाट हप्तामा ११ हजार कुखुराका चल्ला उत्पादन हुँदै आएको छ । ह्याचरी पूर्णरुपमा सञ्चालमा आएपछि हप्तामा ६० हजार चल्ला उत्पादन गर्न सकिने अर्का सञ्चालक निर्जा सिवाकोटीले बताए। क्षमता विस्तारका लागि थप तीन बिगाह १७ कट्ठा जग्गा खरिद गरिएको छ । हाल अण्डा पार्ने ‘प्यारेन्स’ कुखुराको एक दिने चल्ला मलेसियाबाट आयात हुने गरेको छ । ‘कब ५००’ जातको उक्त कुखुराको चल्ला ह्याचरीसम्म ल्याउन करीब साढे छ डलर खर्च हुने सञ्चालक सिवाकोटी बताए।

हाल ह्याचरीमा चार हजार अण्डा पार्ने प्यारेन्स कुखुरा रहेका छन् । कुखुराले नियमित रुपमा ७५ हप्तासम्म अण्डा पार्छ । ह्याचरीबाट प्रतिवटा चल्ला रु ५० मा बिक्री गरिँदै आएको छ । अरुतिर भने ‘कब ४००’ जातको कुखुराको चल्ला पाइन्छ । कुखुराका लागि चाहिने दाना सञ्चालक आफैँले उत्पादन गर्दै आएका छन् । दानाका लागि मकै प्रयोग गरिँदै आएको छ । ह्याचरी सञ्चालमा आएसँगै यहाँका ५० जनाले रोजगारीसमेत पाएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.