छ महीनामा दश अर्ब बराबरको आयात

सुदूरपश्चिम प्रदेशको कैलाली भन्सार कार्यालय नाकाबाट चालु आर्थिक वर्षको शुरु छ महीनामा रु नौ अर्ब ९९ करोड ६७ लाख बराबरका विभिन्न मालसामान आयात भएको छ ।
सामान आयातवापत करीब रु दुई अर्ब ४१ करोड ४१ लाख ८३ हजार राजश्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ । देशका अन्य सीमा नाका जस्तै कैलाली भन्सार कार्यालयबाट पनि बर्सेनि आयात बढ्दै गए पनि निर्यात वृद्धि हुनसकेको छैन ।

चालु आवमा सबैभन्दा बढी असोज महीनामा रु ५७ करोड दुई लाख २७ हजार राजश्व सङ्कलन भएको छ । यस्तै भदौमा रु ३८ करोड १५ लाख ५२ हजार राजश्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उपे्रतीले बताउनुभयो ।

आयातित समानमध्ये सबैभन्दा बढी पेट्रोल र डिजेल रहेको छ । यो अवधिमा रु दुई अर्ब ५० करोडको डिजेल र रु ६४ करोड ७९ लाखको पेट्रोल आयात भएको छ । त्यस्तै खाद्य सामग्रीमध्ये सबैभन्दा बढी बिस्कुट मात्रै रु ३३ करोड ४८ लाख ६७ हजार मूल्यको आयात भएको छ । भन्सारमार्फत आयात हुने अन्य मुख्य १० वस्तुमा चामल, पापड, सुर्तीजन्य पदार्थ लगायतका छन् ।

चालु आवको हालसम्म रु ३९ करोड ५६ लाख छ हजार बराबरको मात्रै निर्यात भएको छ । निर्यात भएका प्रमुख वस्तुमा कत्था, खयर लगायत छन् । गत आर्थिक वर्षमा कार्यालयले रु तीन अर्ब ८७ करोड राजश्व सङ्लन गर्ने लक्ष्य राखेकोमा रु चार अर्ब २० करोड राजश्व सङ्कलन गरेको थियो । चालु आर्थिक वर्षका लागि कार्यालयले रु पाँच अर्ब ३७ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.