अर्थमन्त्री खतिवडाले सन्दर्भ मूल्य सूची लागु गरेपछि भन्सारको राजस्व डेढ गुणा बढीले बृद्धि

विराटनगर। प्रदेश नम्बर १ को सबैभन्दा ठूलो नाकाका रूपमा चिनिने विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा १३ अर्ब २१ करोड ११ लाख रुपैयाँ असुल गरेको छ।

कार्यालयले १२ अर्ब ७६ करोडको चौमासिक लक्ष्यमा १३ अर्ब २१ करोड रुपैयाँ असुल गरेर लक्ष्यका तुलनामा १०३ दशमलव ५४ प्रतिशतले प्रगति हासिल गरेको हो।

कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा ८ अर्ब ८१ करोड २९ लाख रुपैयाँ सङ्कलन गरेको थियो। गत आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा ९ अर्ब ३७ करोड ३४ लाखको लक्ष्य रहेकोमा ९४ प्रतिशत मात्र असुल हुन सकेको थियो।

चालु आर्थिक वर्षको चार महिनामा कार्यालयले गत आर्थिक वर्षको सोही अवधिको भन्दा ४ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ बढी असुल गरेको छ। साथै चालु आवको लक्ष्यभन्दा ४५ करोडभन्दा बढी सङ्कलन गरेको छ।

अर्थ मन्त्रीमा डा. युवराज खतिवडा आएपछि भन्सार कार्यालयहरूमा सन्दर्भ मूल्य सूचीका आधारमा कडाइका साथ राजस्व सङ्कलन गरिँदै छ। पैठारीमा गुणात्मक वृद्धि हुन नसके पनि सन्दर्भ मूल्य सूचीका कारण राजस्व सङ्कलनमा उल्लेखनीय प्रभाव परेको देखिएको हो। जसका कारण विराटनगर भन्सारले गत आर्थिक वर्षको भन्दा डेढ गुण बढी राजस्व सङ्कलन गरेको हो।

कार्यालयले भन्सार महसुलतर्फ ५ अर्ब ४९ करोड २३ लाखको लक्ष्यमा ५ अर्ब ४२ करोड ६५ लाख, मूअकरतर्फ ५ अर्ब ४० करोड १० लाखको लक्ष्यमा ६ अर्ब ९० करोढ ९३ लाख र अन्तःशुल्कको १ अर्ब ८६ करोड ६२ लाखको लक्ष्यमा १ अर्ब ८२ करोड रुपैयाँ असुल गरेको जानकारी दिएको छ।

चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा राजस्वमा सबैभन्दा बढी योगदान हाई स्पिड डिजलले ५ दशमलव ६९ प्रतिशत दिएको छ। त्यस्तै पेट्रोलले ४ दशमलव ८१, एमएस बिलेटले ४ दशमलव ६४ र तयारी कपडाले ४ दशमलव ६३ प्रतिशत योगदान गरेका छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.