लगानी सम्मेलनको तयारी पुरा

सरकारले आगामी चैत १५ र १६ गते काठमाडौँमा सम्पन्न हुन गइरहेको लगानी सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । अर्थमन्त्रालयले बुधवार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सम्मेलनमा विभिन्न ४० मुलुकका उच्च स्तरीय प्रतिनिधिमण्डल लगायत ६ सय भन्दा बढी विदेशी लगानीकर्ताहरूको उपस्थिति रहने र सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

त्यसै गरी, सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाल स्थिति विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजी क्षेत्र, गैह्–आवासीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहने अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिएका छन् । उक्त दुई दिने सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरू प्रस्तुत गर्र्नेछ । त्यसैगरि सम्मेलनमा करिब १२ वटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गरिने तयारी भएको मन्त्री खतिवडाले बताए । खतिवडाले सरकारका लागि स्वदेशी र विदेशी लगानीकर्ता बराबर भएको पनि बताएका छन् । उनले नेपालमा विदेशी लगानी भित्र्याउने सवालमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन(फिटा) ल्याइएको र स्वदेशी लगानीकर्ताका लागि समेत सार्वजनिक औद्योगिक व्यवसाय ऐन ल्याउन लागिएको उल्लेख गरे । .
पत्रकार सम्मेलनमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनको तयारी पूरा भएको र सम्मेलनमा प्रस्तुत गरिने परियोजना तयार भइसकेको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले स्थिर सरकारसँगै श्रम र ऊर्जा समस्या हल भइसकेकाले लगानीको वातावरण बनेको जिकिर गरेकी छन् । उनले समृद्धिलाई सरकारले लक्ष्य बनाएको भन्दै यसलाई सहयोग गर्न निजी क्षेत्र तयार रहेको बताइन् ।

दुई दिने सम्मेलनको पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरूबारे प्रस्तुतिकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरूको अनुभव, अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको लगानी सम्बन्धी अनुभव सहित सातवटा विषयगत सत्रहरू सञ्चालन हुने मन्त्रालयले जनाएको छ । त्यसै गरी सम्मेलनको अन्तिम दिन दुईवटा क्षेत्रगत र तीन वटा प्लेनरी सत्रहरू सञ्चालन हुनेछन् । सम्मेलन सफल रूपमा आयोजना गर्न अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष डा. खतिवडाको संयोजकत्वमा निर्देशक समिति गठन भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.