मुस्ताङमा आन्तरिक पर्यटकको चाप बढ्दो : एकैदिन ४ हजार पुगे

प्रचार–प्रसार, सहज यातायात, सुरक्षा व्यवस्था, प्राकृतिक सम्पदा संरक्षण र अन्य आवश्यक पूर्वाधार विकास गरिए विदेशी पर्यटक कुर्नुपर्दैन, आन्तरिक पर्यटकबाटै मनग्य आम्दानी गर्न सकिन्छ।

यसको पछिल्लो उदाहरण बनेको छ हिमालपारिको जिल्ला मुस्ताङ। मुस्ताङले आन्तरिक पाहुनाबाटै राम्रो लाभ लिन थालेको छ। मंगलबार एकैदिन झन्डै चार हजार आन्तरिक पर्यटक जोमसोम पुगे। दसैंका बेला हिमाली जिल्ला मुस्ताङ घुम्न यति धेरै संख्यामा आन्तरिक पर्यटक मुस्ताङ पुगेका हुन्।

बेनी–जोमसोम सडक खुलेर सवारीसाधन सञ्चालन सहज भएपछि हिमाली जिल्ला मुस्ताङ स्वदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। प्रहरीको तथ्यांकअनुसार मंगलबार ३ हजार ९ सय २ आन्तरिक पर्यटक मुस्ताङ पुगेको देखिन्छ।

मुस्ताङस्थित ट्राफिक कार्यालयका सई डोलेन्द्र हमालका अनुसार दसैंपछिका दिनमा सबैभन्दा बढी मंगलबार ३ हजार ९ सय २ जना आन्तरिक पाहुना जोसमोम प्रवेश गरेका थिए। गत शनिबार १ हजार ५ सय ४२ आन्तरिक पर्यटक मुस्ताङ पुगेका थिए। आइतबार तीन हजार र सोमबार एक हजार ६ सय ४३ पर्यटक मुस्ताङ पुगेको तथ्यांक छ।

बेनी–जोमसोम सडक खुलेर सवारीसाधन सञ्चालन सहज भएपछि हिमाली जिल्ला मुस्ताङ स्वदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। प्रहरीको तथ्यांकअनुसार मंगलबार ३ हजार ९ सय २ आन्तरिक पर्यटक मुस्ताङ पुगेको देखिन्छ।

हमालका अनुसार मंगलबार ३६ वटा बस, ३ सय ७० वटा जिप, ७ सय १५ मोटरसाइकल र २ वटा पर्यटक जिप (हरियो प्लेटं) का गाडीमा ती पाहुना मुस्ताङ पुगेका थिए। त्यस्तै शनिबार १४ बस, १ सय २६ जिप, १ सय २५ मोटरसाइकल र ४२ वटा पर्यटक जिप मुस्ताङ भित्रिए।

आइतबार २८ बस, २ सय १६ जिप, ३ सय ५० मोटरसाइकल र ५ वटा पर्यटक जिप तथा सोमबार १४ बस, एस सय ७ जिप, २ सय ७५ मोटरसाइकल र ८ वटा पर्यटक जिपमा पर्यटक त्यहाँ पुगेका थिए।

‘नेपालका सबैजसो ठाउँबाट आन्तरिक पर्यटक घुम्न आएका छन,’ हमालले भने, ‘अरु बेला सामान्य अवस्थामा दैनिक दर्जन हाराहारीमा सवारीसाधन चल्ने सडकमा यसपटक दसैका बेला एकैदिन एक हजार बढी सवारीसाधनको व्यवस्थापन गर्नुपर्दा हामीलाई नै हम्मे हम्मे भयो।’

दैनिक सयौं आन्तरिक पर्यटक दसैंको बिदामा मुस्ताङ घुमेको व्यवसायी बताउँछन्। आन्तरिक पाहुनाको व्यवस्थापनमा हम्मे हम्मे भएको उनीहरुले बताए। यतिबेला विदेशी पर्यटक पनि नेपाल घुम्न आउने सिजन भएको पर्यटन व्यवसायी बताउँछन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.