यसवर्षको चाडमा नारायणगढ–मुग्लिन सडक सहज हुने

विगतका वर्षमा चाडपर्वका बेला यात्रुले दुःख पाएको नारायणगढ–मुग्लिन सडकखण्ड यस वर्ष सहज हुने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालकाअनुसार सडक विस्तारको काम सम्पन्न भएकाले अब यात्रुले उक्त सडक एक घण्टाभित्रमा पार गर्न सक्नेछन् ।

तीन वर्षयता सडक विस्तारका क्रममा रहेकाले दशैँ, तिहार, छठजस्ता पर्वमा राजधानी बाहिरिने यात्रुले दुःख पाएका थिए। त्यसअघिका वर्षमा साँघुरो र भत्किएको सडकका कारण यात्रुले सास्ती पाएका थिए। सडक नौ मिटरदेखि ११ मिटर चौडा रहेको छ। सडकका १८ ठाउँमा ५–६ मिटर चौडा पुल रहेका छन्। तीन ठाउँमा सडक भाँसिएको छ।
ती ठाउँमा सडक साँघुरा भए पनि सवारी आवागमनमा खासै समस्या नभएको खनालले बताए। भदौ २६ गते करिब ११ घण्टा पहिराले सडक अवरुद्ध पारेको थियो। त्यसयता पहिरो नखसेको खनालले बताए। सडकका पुलको मुखमा गति रोक्ने संरचना बनाइएको छ। ती संरचना बनाएसँगै दुर्घटनामा समेत कमी आएको बताइएको छ।

उक्त सडक ३९ महिनामा निर्माण सम्पन्न भएको हो। शुरुमा दुई अर्ब ९० करोडमा ठेक्का दिइएको भए पनि पहिरो, समय थप, काम वृद्धि लगायतका कारण लागत रकम तीन अर्ब २७ करोड पुगेको उनले बताए। याे सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी आवागमन गर्ने गर्दछन्। चाडपर्वका बेला योसंख्याथपिने गरेकाे छ।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.