७.९९ अंकले बढ्यो नेप्से, ३७ करोडको कारोबार

असोज लागेसँगै अधिकांश कारोबार दिन रातो देखिएकोमा सोमबार भने ५ अंकको सुधारसँगै हरियो भएको छ।

असोज १० गतेदेखि लगातार घटिरहेको बजार १६ गते ३ अंकले ब्रेक लगेको थियो। त्यसपछिका तीन कारोबार दिनमा ६३.३८ अंकले ओरालो लागेको शेयर बजार सोमबार भने सुधार देखिएको हो।

आज नेप्से परिसूचक ७.९९ अंकले बढेको छ । ०.६६ प्रतिशतले परिसूचक बढ्दा १२२२.३५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज(नेप्से) का अनुसार आज १ सय ६३ कम्पनीका १४ लाख ५१ हजार ५ सय ७२ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा ३७ करोड १६ लाख ५६ हजार ९ सय २३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार सुरु भएको ३० मिनेटसम्म थोरै घटेको शेयर बजार त्यस पछि सामान्य सुधार हुँदै अन्तिममा ०.६६ प्रतिशतले बढेको हो। लगानीकर्ताले पहिलो त्रैमाशको लागि आवश्यक पर्ने ब्याज र दशैंको लागि आवश्यक पर्ने रकम जोहो गरेसँगै सोमबार शेयर बजारमा समान्य सुधार देखिएको लगानीकर्ता संघका उपाध्यक्ष तारा फुलेलले बताए।

पछिल्ला दिनमा लगानीकर्ताले बजार अझै घट्न सक्ने अनुमान गर्दै केहि दिन अगाडि नै पैसा जोहो गर्न खोज्दा बजार घटिरहेको थियो। अधिकांश लगानीकर्ताले बजार घट्ने सक्ने अनुमान गर्दै सकेसम्म माथिल्लो मूल्यमै शेयर बेचेर रकम जम्मा गर्न खोजेका हुन्। यस्तो चक्र सकिएसँगै बजार सुधार हुने फुलेले बताए।
बजार हरियो देखिए पनि कारोबार रकममा भने सुधार हुन सकेन। सोमबार हाइड्रोपावरको सूचक घटेपनि अन्य सूचक बढेका छन्।  माछापुच्छ्रे बैंकको अधिकतम ९ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ। सबै भन्दा धेरै नाडेप लघुवित्त वित्तीय संस्थाको बजार बढ्दा सर्किट ब्रेक लागेको छ। विगत एक महिनाको अवधिमा नाडेप लघुवित्तको बजार ७०२ रुपैयाँबाट बढेर १७९० रुपैयाँ पुगेको छ। मञ्जुश्री फाइनान्सका शेयरधनीले सबै भन्दा धेरै ३ प्रतिशतले गुमाएका छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.