पहिलो चौमासिकमा २६ प्रतिशत राजस्व संकलन, भन्सार बढे पनि भ्याट संकलन कमजोर, गैरकर पनि उठेन

काठमाडौं। सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कूल राजस्व लक्ष्यको २६.८६ प्रतिशत राजस्व संकलन गरेको छ। वार्षिक ९ खर्ब ४५ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा चार महिनामा २ खर्ब ५३ अर्ब ९६ करोड रुपैयाँ राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ। यद्यपि कात्तिकसम्मा संकलन भएको राजस्व चौमासिक लक्ष्य भन्दा ३ अर्ब ६८ करोडले कम हो।

अर्थ मन्त्रालयका अनुसार यो अवधिमा मूल्य अभिवृद्धि कर संकलन सुस्त देखिएको छ। यो अवधिमा ८८ अर्ब १ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर संकलनको लक्ष्य राखिएकोमा ८० अर्ब ४३ करोड रुपैयाँ अर्थता लक्ष्यको तुलनामा ९१ प्रतिशत मात्रै संकलन भएको छ।

यस्तै आयकर तर्फ पनि लक्ष्यअनुसार संकलन भएको छैन। ३८ अर्ब ६५ करोड रुपैयाँ संकलनको लक्ष्य राखिएकोमा ३५ अर्ब ८९ करोड रुपैयाँ अर्थात ९३ प्रतिशत राजस्व संकलन भएको छ।

कात्तिकमा भन्सार संकलन भने लक्ष्यभन्दा धेरै भएको छ। ५३ अर्ब ८ करोड रुपैयाँ भन्सार राजस्व संकलनको लक्ष्य राखिएकोमा ५४ अर्ब २० करोड रुपैयाँ असुली भएको मन्त्रालयले जनाएको छ।

गैर कर राजस्व भने लक्ष्यभन्दा निकै कम देखिएको छ। ५ अर्ब रुपैयाँ बेरुजु समावेश गर्दासमेत गैरकर राजस्व लक्ष्यको तुलनामा ७५ प्रतिशत मात्रै संकलन भएको छ। यो अवधिमा ३२ अर्ब रुपैयाँ गैरकर राजस्व संकलनको लक्ष्य राखिएकोमा २४ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ।
गत वर्षको पहिलो चार महिनाको तुलनामा यो वर्ष राजस्व संकलन ३० प्रतिशतले बढेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.