दुईवटा रेल किन्न सरकारको स्वीकृति

सरकारले भारतसँग रेलका दुईवटा सेट खरिद गर्न रेल विभागलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विभागलाई ८४ करोड ६५ लाख ९५ हजार रुपैयाँ खर्चेर दुई सेट डेमु (डिजेल इलेक्ट्रिफाई मल्टिपल युनिट) रेल किन्न स्वीकृति दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जनाए ।

दुवै रेलमा दुई दुईओटा इन्जिनसहित ५/५ ओटा डिब्बा हुनेछन् । सरकारले भारतको कोंकण रेलवेज कर्पोरेसन लिमिटेडबाट डिजेल इलेक्ट्रिक मल्टिपल युनिट (डीईएमयू) रेल खरिदका लागि स्वीकृति दिएको हो । यो भारतको जयनगरदेखि जनकपुरको कुर्तासम्म ३४ किलोमिटर दूरीमा सञ्चालन गरिनेछ । रेल विभागका प्रवक्ता सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले छोटो दूरीका लागि यो रेल उपयुक्त हुने भएकाले खरिद गर्न लागिएको जनाए । चित्रकारले रेल खरीदको प्रक्रिया छिट्टै शुरू गरिने र २ देखि ३ महीनाभित्र भारतबाट आइसक्ने जानकारी दिए ।

यसअघि सरकारले रेल किन्न ५० करोड रुपैयाँ दिएकोमा त्यो अपुग हुने भएपछि करीब ३५ करोड रुपैयाँ थपिदिएको हो । एउटा रेलले १ हजार ३ सय जनासम्म यात्रु बोक्नेछ । रेलको क्षमता प्रतिघण्टा १५० किलोमिटर भए पनि १०० किलोमिटर प्रतिघण्टाका दरले चलाइनेछ । डेमु रेल अत्याधुनिक प्रविधिको भएको र ३ सय किलोमिटरसम्मको यात्राका लागि अत्यन्तै उपयोगी मानिने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.