तामाकोशीको नजिरले झस्किएपछि सेयर विक्रीमा यस्तो विधि अपनाउन थाले कम्पनी र नियामक

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर निस्कासनका क्रममा प्राप्त अनुभवपछि सेयर निस्कासनकर्ता कम्पनी र नियामक निकायले अर्काे विकल्प निकालेका छन् ।

माथिल्लो तामाकोशीले आधा दर्जनभन्दा धेरै पटकको प्रयासमा मात्रै आयोजना प्रभावित दोलखाबासीलाई साधारण सेयर बिक्री गर्न सकेको थियो । अनेकन माग, हन्डर र ठक्कर पछि मात्रै आयोजनाले स्थानीयबासीलाईसेयर बेचेको हो । जुन, बुधबार मात्रै बाँडफाँड गरिएको छ ।

बिजुली बलेपछि मात्रै सेयरमा लगानी गर्छौं भन्ने दोलखालीको माग सो आयोजनाको हकमा लागू भएको थियो । जसका कारण आयोजनालाई सेयर बेच्न राम्रै पापड पेल्नु परेको थियो ।

स्थानीय राजनीतिक दल, सरोकारवाला भनिएका व्यक्ति समेत सोही धारणामा थिए । यस्तै अनेकनक समस्या ब्यहोर्नु परेपछि कम्पनीले निर्धारित समयमा आयोजना प्रभावितलाई सेयर विक्री गर्न सकेको थिएन ।

निर्धारित समयमा सेयर बिक्री गर्न नपाएपछि आयोजनाको लागत बढेको बताइएको छ । आयोजनाले कुन समयमा आयोजना प्रभावितलाई, कुन समयमा ऋणदाता कम्पनीका कर्मचारीलाई, कुन समयमा आयोजना र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई तथा कुन समयमा सर्बसाधारणलाई सेयर बेच्ने भनेर समय तालिका बनाएको थियो ।

सो तालिका अनुसार सेयर बेचेर रकम प्राप्त नभएपछि आयोजनाले थप ऋण लिएर आयोजना बनाएको थियो । आयोजना प्रभावितले विजुली बल्न थालेपछि मात्रै सेयरमा पैसा हाल्ने अडान लिएपछि सेयर विक्री गर्न अन्य समुहको तालिका समेत प्रभावित भएको थियो ।

माथिल्लो तामाकोशी आयोजनामा प्राप्त भएको यो अनुभवपछि सेयर निस्कासनकर्ता कम्पनी र नियामक निकाय विकल्प खोजी गर्न थालेका छन् । जसको पछिल्लो उदाहरण चिलिमे जलविद्युत आयोजनाका सहायक कम्पनीहरुको सेयर निस्कासन प्रक्रिया हो ।

पछिल्लो पटक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीको रुपमा स्थापित अन्य कम्पनी समेत माथिल्लो तामाकोशी प्रकरण दोहोरिएला भनेर आयोजना प्रभावित स्थानीयलाईभन्दा पहिला नै सर्बसाधारणलाई सेयर बेच्न लागेका छन् । नियामक निकाय धितोपत्र बोर्डले पनि सोही अनुसार सेयर निस्कासनको अनुमति दिन थालेको छ ।

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीका रुपमा स्थापित र केही आयोजना निर्माण गरिरहेका कम्पनीले दोस्रो चरणमा स्थानीयबासीलाई साधारण सेयर बिक्री नगरी सर्वसाधारणलाई सेयर बिक्री गर्न लागेका छन् ।

रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई सेयर बिक्री गर्न लागेका हुन् ।

रसुवाबासीले आफूहरु भूकम्प पछिको पुनः निर्माणमा लागेको, आफूहरुसँग रकम समेत नभएको भन्दै सेयर बिक्री प्रक्रिया पछाडि सारिदिन आग्रह गर्दै आएका छन् ।

स्थानीयबासीलाई सेयर बिक्री गरेर मात्रै सर्वसाधारणलाई सेयर बिक्री गर्ने गरिएको थियो । तर त्यो व्यवस्थालाई उल्ट्याइएको छ ।

भूकम्पका कारण पीडित भएको, घर बनाउन समेत पैसा नभएको र तत्काल १ अर्ब रुपैयाँभन्दा बढीको सेयरमा लगानी गर्न नसक्ने भन्दै आयोजनालाई जानकारी गराएका छन् ।

सर्वसाधारणलाई दोस्रो चरणमा सेयर बिक्री गर्ने जानकारी नेपाल धितोपत्र बोर्डलाई समेत ती कम्पनीले गराइसकेको आयोजनाका प्रमुखहरुले जानकारी दिएका छन् ।

साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख किरण श्रेष्ठका अनुसार स्थानीयबासीको माग बमोजिम सेयर बिक्रीको प्रक्रियाका केही हेरफेर गरिएको बताए । साञ्जेनले ३६ करोड ५० हजार रुपैयाँ बराबरको शेयर रसुवाबासीलाई बिक्री गर्ने तयारी गरेको थियो ।

यस्तै सो कम्पनीले आम सर्वसाधारणलाई ५४ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर बिक्री गर्ने भएको छ ।

रसुवागढी जलविद्युत् आयोजनाका प्रमुख माधव कोइरालाका अनुसार स्थानीयबासीले आफूहरु तत्काल सेयर खरिद गर्न नस्क्ने बताएका कारण दोस्रो चरणमा सर्वसाधारणलाई शेयर बिक्री गर्न लागिएको हो ।

उक्त कम्पनीले ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको सेयर रसुवाबासीलाई बिक्री गर्न लागेको थियो । यस्तै सोही कम्पनीले १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री गर्ने तयारी छ ।

बोर्डले समेत स्थानीयको माग बमोजिमको कानुनी प्रबन्ध गरिदिने विश्वास दिलाएको प्रमुख कोइरालाले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.