कर नतिरेका २७ फर्म सञ्चालकको सम्पत्ति रोक्का गरिने

आन्तरिक राजश्व कार्यालय भरतपुरले लामो समयदेखि बक्यौता नतिरेका २७ फर्म सञ्चालकको सम्पत्ति रोक्का तथा लिलाम प्रक्रिया अघि बढाएको छ ।

बक्यौता उठाउन सबै प्रकृया पूरा गर्दापनि कर नतिरेपछि अन्तिम तहको कारवाहीस्वरुप सम्पत्ति रोक्का तथा लिलाम प्रक्रिया शुरु गरिएको हो ।

ती करदाताको बक्यौता असुलीका लागि टेलिफोन, पत्राचार, स्थलगत भ्रमण, ताकेतापत्र, सार्वजनिक सूचना सबै प्रकृया पूरा गरीसकिएको कार्यालयका कर अधिकृत त्रिविक्रम तिमिल्सिनाले बताए । तिमिल्सिनाका अनुसार मूल्य अभिवृद्धि करतर्फका १५ करदाताको रु १२ करोड १२ लाख बक्यौता बाँकी छ । आयकरतर्फ १२ करदाताको रु तीन करोड ३३ लाख बक्यौता रहेको छ ।

त्यस्तै मूल्य अभिवृद्धि करमा दर्ता भई रु एक लाखभन्दा माथि बक्यौता रहेका तीन सय करदाताको बक्यौता रु २१ करोड ७० लाख रहेको छ । आयकरतर्फ सबैको बक्यौता रु १५ करोड ३३ लाख रहेको उनले बताए ।

२०४० सालयता बक्यौता थप हुँदै गएको र कार्यालयले आफ्नो प्रक्रियाअन्तर्गत बक्यौता असुलीका लागि ताकेता गर्दा बेवास्ता गरेपछि अन्तिम कारवाहीस्वरुप सम्पत्ति रोक्का तथा लिलाम प्रक्रिया अघि बढाएको कार्यालय प्रमुख शुभप्रसाद रिजालले बताए ।

उनका अनुसार कार्यालयले चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा रु १७ अर्ब ५६ करोड १४ लाख ९९ हजार राजश्व सङ्कलन गरेको छ । फागुन मसान्तसम्ममा लक्ष्यको १०३ दशमलव ३७ प्रतिशत राजश्व सङ्कलन गरेको हो । असार मसान्तसम्मका लागि रु ३० अर्ब एक करोड ३६ लाख ५३ हजार लक्ष्य तोकिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.