टिकटकबाट भाइरल भएको ‘मानहुँकोट’ डाँडामा एकैदिन १५ हजारको भीड, कसरी जाने, के गर्ने ?

काठमाडौं । अहिले टिकटकमा तनहुँको ‘मानहुँकोट’ डाँडाको भिडियो भाइरल छ । क्षितिजमा उदाउँदो सूर्य र डाँडामुनीको डम्म लागेको कुहिरोको मनोरम दृश्य हेर्दै गरेका हजारौंको भीड भिडियोमा देख्न सकिन्छ ।

दमौली बजारलाई कुहिरोले डम्मै छोपेको छ । साथै सुर्योदय हुँदै गर्दाको सुनौलो सुर्यलाई स्वागत गर्न हिँजो (शनिबार) मात्रै १५ हजारभन्दा बढी मानिस तनहुँको यही ‘मानहुँकोट’ डाँडामा भेला भए ।
स्मार्टफोन र डिएसएलआर जस्ता क्यामरामा कैद भिडियो र तस्बिरहरुले सामाजिक सञ्जाल विशेषगरी टिकटक कब्जाजस्तै गर्यो ।
‘पछिल्लो समय टिकटकमा जति धेरै भिडियो आउन थाल्यो, मानिसहरुको भीँड बढ्दै गयो, शनिबार त हालसम्मकै सबैभन्दा धेरै पर्यटकहरु डाँडामाथि पुगे,’ ब्यास नगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष मोहन श्रेष्ठले भने । टिकटकमा यस्ता भिडियो यति धेरै भए कि औसतमा प्रत्येक १० वटा भिडियोपछि उस्तै दृश्य दोहोरिन थाले ।

उसो त पहिले पनि यो ठाउँमा शुक्रबार र शनिबार भीड नै हुन्थ्यो ।
तर दशैंपछिको हिँजोको शनिबार भने अपेक्षा गरेभन्दा कैयन गुणा बढी मानिस जम्मा भए जसले गर्दा जनप्रतिनिधिलाई व्यवस्थापन गर्न भ्याइनभ्याइ भयो । जसले गर्दा पर्यटकको घुँइचो व्यवस्थापन कसरी गर्ने भन्नेमा जनप्रतिनिधिहरु आइतबार दिउँसो बैठक बसी त्यसैमा केन्द्रित भए ।

‘डेढ वर्षअघिदेखि नै हामीले यस पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न थालेका हौं, तर अहिले थामिनसक्नुको संख्यामा पर्यटक आउन थाल्नु भयो । जसले गर्दा व्यवस्थापन गर्न निकै कठीन भएको छ,’ वडा अध्यक्ष श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

उनका अनुसार औसतमा ५०० देखि १ हजार जनासम्म पुग्ने गरेकोमा हिँजो शनिबार मात्रै १५ हजारभन्दा बढी पर्यटक आएका थिए । जसले गर्दा त्यहाँ पुग्ने बाटोभरी मोटरबाइक र कारको जाम २ किलोमिटर वरसम्म भयो ।

डाँडाबाट दमौली बजार, घुमिरहेको बादल, सुर्योदय र सुर्योस्त मात्रै होइन मौसम सफा भएका बेलामा विभिन्न हिमश्रृंखलाहरुको दृश्य पनि देख्न सकिन्छ ।

बिहान ५ देखि ६ बजेभित्रमा सुर्योदय भइसक्छ त्यही समयमा डाँडामुनी बादल भरिन्छ । यही सुनौलो र मनमोहक दृश्य हेर्न मानिसहरुको भीड बढेको छ ।

कोरोना भाइरसका कारण मानिसहरु लामो समयदेखि घरभित्रै सीमित हुन बाध्य भए । वर्षेनी हिमालतिर पदयात्रामा पुग्ने कैयन आन्तरिक पर्यटकहरु यसपाली जान पाएनन् । कैयन क्षेत्र त बन्द नै भए ।

तर घुम्न निस्कनेहरुका लागि मानहुँकोट विकल्प बनिदियो । र, काठमाडौंलगायत, गोखरा, पाल्पा, कास्की, चितवनलगायतका स्थानबाट मानिसहरु जान थाले ।

कसरी जाने

सबैभन्दा पहिले दमौली बजारमा पुग्ने । यदि सुर्योदय हेर्ने हो भने अघिल्लो दिन राति नै बास बस्न पुग्न सकिन्छ । त्यहाँबाट २ किलोमिटर पक्की र ५ किलोमिटर जति कच्ची बाटो हुँदै बढीमा १ घण्टामा मानहुँकोट पुग्न सकिन्छ ।

यदि तपाई मानहुँकोटमै बस्ने हो भने त्यहाँ ७÷८ वटा होटल र एउटा रिसोर्ट पनि छ । तर ती होटल र रिसोर्टमा बढीमा ९० जनासम्म मात्रै बस्न सकिन्छ ।

त्यसबाहेक अर्को उपाय के छ भने तपाईँले टेन्ट भाडामा लिएर रात कटाउन सक्नुहुन्छ । टेन्टका लागि कम्पनीहरुले एक रातको १ हजार रुपैयाँ शुल्क तोकेका छन् ।

खानाका लागि भने यदि दमौली बजारमा बस्नु भयो भने होटलमा केही पनि समस्या छैन भने माथि मानहुँकोटमै बस्ने हो भने पनि अर्डर गरेपछि खाना पाइन्छ ।

हालसम्म स्थानीयले त्यहाँ पुग्नका लागि कुनै पनि शुल्क तोकेका छैन । तर यस विषयमा पनि छलफल भने भइरहेको वडा अध्यक्ष श्रेष्ठले बताए ।

कस्तो छ पूर्वाधार रु

पूर्वाधार अहिले निर्माणको चरणमै छ । वडा अध्यक्ष श्रेष्ठका अनुसार डाँडामा रेलिङ लगाउने काम ७० प्रतिशतसम्म सकिएको छ भने डाँडामा भ्यू टावर बनाउने काम पनि ७० प्रतिशत पूरा भएको छ । त्यसबाहेक पर्यटकका लागि बास बस्न र खानाका लागि पनि अहिले थप व्यवस्था गर्ने तयारी भइरहेको छ ।

टेन्टको माग बढ्यो

पर्यटक बढ्दै जाँदा टेन्ट कम्पनीहरुलाई टेन्ट पुर्याउन कठीन भयो । पहिले दमौली बजारमा २ वटा मात्रै कम्पनीले टेन्ट भाडामा दिन्थे ।

अहिले ४ वटा कम्पनीले ८० भन्दा बढी टेन्ट उपलब्ध गराइरहेका छन् । त्यसबाहेक पोखराबाट पनि भाडामा ट्राभल कम्पनीहरुले टेन्ट उपलब्ध गराउन थालेका छन् भने कतिपय पर्यटकले त आफैँ टेन्ट बोकेर आउन थालेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.