चेम्बर एक्स्पो समापन, बजार चलायमान बनाउन सघाएको दाबी

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौं चरणको चेम्बर एक्स्पो २०२४ सम्पन्न भएको छ। फागुन २४ देखि २८ सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन गरिएको एक्स्पोमा स्थानीय उत्पादनदेखि अन्तर्राष्ट्रिय वस्तु प्रदर्शनीमा राखिएका थिए।

एक्स्पोको ४० हजार बढी दर्शकले अवलोकन गरेको आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ। आर्थिक सुस्तीबीच चेम्बर एक्स्पो भव्य रुपमा सम्पन्न भएको अध्यक्ष राजेन्द्र मल्लले बताए। एक्स्पोमा स्वदेशमै उत्पादित कृषिजन्य वस्तु, हस्तकला सामग्री प्रदर्शनीमा राखिएका थिए।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले सातौं चरणको एक्स्पो सम्पन्न गरेको हो। एक्स्पोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १६० बढी स्टल रहेका थिए।

एक्स्पोमा नेपाल, भारत, दक्षिण कोरिया, बंगलादेश पाकिस्तानलगायतका व्यापारीले समेत सहभागिता जनाएका थिए।

एक्स्पोमार्फत स्थानीय उत्पादन प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्न महत्त्वपूर्ण सहयोग भएको अध्यक्ष मल्लको भनाइ छ।

अर्थतन्त्र चलायमान एवं व्यावसायिक गतिविधि विस्तार गर्न एक्स्पो सफल भएको उनले दाबी गरे। चेम्बरले प्रत्येक वर्ष चेम्बर एक्स्पो आयोजना गर्दै आएको छ। अध्यक्ष मल्लले एक्स्पोमा राखिएका अन्तर्राष्ट्रिय वस्तुको फिर्ती प्रक्रियालाई सहज बनाउनुपर्नेमा जोड दिए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.