त्रिभुवन विमानस्थलमा उडान अस्तव्यस्त, कतारले गर्‍यो ‘ओभरसुट’

काठमाडौं– प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । अपरान्ह एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।

उनका अनुसार आन्तरिक उडानका जहाज ‘डाइभर्ट’ भएका छन् भने अन्तर्राष्ट्रियतर्फ केही जहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुनका साथै केही जहाज विभिन्न गन्तव्यमा डाइभर्ट भएका छन् ।

झाका अनुसार कतारबाट आएको कतार एयरवेजले ‘ओभरसुट’ गर्नुपरेको छ । यो जहाज पुनः काठमाडौं अवतरण गर्ने प्रयासमा छ ।

त्यस्तै चाइना इस्टर्नको जहाज बंगलादेशको ढाका ‘डाइभर्ट’ भएको छ । भारतको इन्डिगो एयरको जहाज नयाँदिल्ली डाइभर्ट भएको प्रवक्ता झाले जानकारी दिए ।

त्यस्तै नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बुद्ध एयरको जहाज भैरहवा फर्किएको थियो भने सिमराबाट काठमाडौँ आइरहेको सोही कम्पनीको जहाज सिमरा नै डाइभर्ट भएको छ । काठमाडौँबाट पोखरा जान लागेको यती एयरलाइन्सको जहाज काठमाडौँ नै फर्किएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.