प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोडभन्दा बढी रकम जम्मा

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड ४७ लाख ११ हजार एक सय ११ रुपैयाँ जम्मा भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार मात्रै सहयोगी हात बढाउन विभिन्न बैङ्कको खाता सार्वजनिक गरेको थियो ।

मंगलबारसम्म भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार एक सय ११ हजार रुपैयाँ, बुद्ध एयरबाट एक करोड रुपैयाँ,एलपी ग्यास कम्पनीले ११ लाख ११ हजार रुपैयाँ, एनआईसी एशिया बैंकले ५१ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकले एक करोड ५० लाख रुपैयाँ जम्मा गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यस्तै नेपाली कांग्रेसकाले ५० लाख रुपैयाँ र नेकपा एकीकृत समाजवादीले २५ लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार सहयोगी रकम आउने क्रम जारी छ । कार्यालयको आर्थिक प्रशासन शाखाले प्रधानमन्त्री राहत कोष, प्रधानमन्त्री सहायता कोष र राष्ट्रिय विपद् व्यवस्थापन कोषको सञ्चालन तथा लेखा व्यवस्थापन गर्दै आएको छ । विपद्मा तत्काल खर्च गर्न मिल्ने गरी कोष खडा गरिएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सरकारले पीडितको उद्धार, राहत र पुनस्र्थापनाको काम गर्छ । २०७२ वैशाखको भूकम्पमा पनि यसै कोषमार्फत सरकारले २२ अर्बभन्दा बढी खर्च गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आइतबार सूचना जारी गर्दै देश विदेशमा रहेका सहयोग गर्न इच्छुकलाई दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न अनुरोध गरेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.