माघमा घरजग्गा कारोबार बढ्यो, ३ अर्ब ७१ करोड राजस्व संकलन

काठमाडौं । पुस महिनाको तुलनामा माघ महिनामा घर जग्गाको कारोबारमा वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेखालय विभागकाअनुसार माघ महिनामा ४९ हजार २९० घरजग्गा कारोबार भएको छ । विभागकाअनुसार माघ महिनामा कुल ४९ हजार २९० वटा घरजग्गा लिखत पास भएका छन् । जसमध्ये नामसारी ४३८३ वटा, संशोधन १० हजार ४८२ वटा रहेका छन् । ३३ हजार २३४ जग्गा रोक्का भएको छ भने २८ हजार ५८६ जग्गा फुकुवा भएको छ । सबैभन्दा धेरै जग्गाको कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीमा २ हजार ३२ वटा भएको छ ।  यसअघि पुस महिनामा ४५ हजार २७७ वटा घरजग्गा किनबेच भएको थियो । चालु आर्थिक वर्ष सुरु भएयता हेर्ने हो भने साउनमा ३९ हजार २६३ वटा घरजग्गा किनबेच भएको थियो ।

त्यस्तै, भदौमा ३५ हजार ६८६ वटा, असोजमा ४७ हजार ३९८ वटा, कात्तिकमा २६ हजार, मंसिरमा ४१ हजार ८५१ वटा र पुस महिनामा ४५ हजार २७७ वटा घरजग्गा कारोबार भएको थियो । घरजग्गा कारोबार बढेसँगै यसबाट सरकारले पाउने राजस्व रकम पनि बढेको छ । माघ महिनामा कुल राजस्व ३ अर्ब ७१ करोड २८ लाख ११ हजार ९१४ रुपैयाँ उठेको विभागको तथ्यांकले देखाएको छ । कुल राजस्वमध्ये सेवा कर २२ करोड ५१ लाख ५७ हजार ६७९ रुपैयाँ, रजिष्ट्रेसन दस्तुर २ अर्ब २४ करोड ९९ लाख ६१ हजार ७९३ रुपैयाँ र पुँजिगत लाभ कर १ अर्ब १९ करोड ९३ लाख ९६ हजार ७९९ रुपैयाँ तथा अन्य कर तथा दस्तुरहरु रहेका छन् ।

पुस महिनामा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब २० करोड ५२ लाख १२ हजार ५३० रुपैयाँ राजस्व संकलन गरेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.