म्याग्दी–बागलुङ जोड्ने झोलुंगे पुल निर्माण कार्य अन्तिम चरणमा

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरबाट छिमेकी बागलुङ जिल्लाको बागलुङ नगरपालिका–४ कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

नेपाल सरकारको ‘सस्पेन्सनब्रिज’ डिभिजनले दुई जिल्ला जोड्ने तीन सय ८८ मिटर लामो र एक सय ७० मिटर अग्लो झोलुङ्गे पुलको निर्माण सुरू गरेको हो ।

एक घण्टाको बाटो पाँच मिनेटमा छोटिने भएको छ । तीन करोड लागतमा बन्ने सो पुल निर्माणको लागि भानीहिमशिखर जेभीले १० महिनामा पुल तयार गर्ने गरी गत वर्षको असोजमा सम्झौता गरेको थियो ।

सम्झौता मितिको करिब चार महिना ढिला गरी पुल निर्माण सम्पन्न हुने भएको हो। गत असार मसान्तभित्र काम सक्ने गरी गत वर्षको कात्तिक ४ गतेबाट पुल निर्माणको काम अगाडि बढेको थियो ।

रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबार लगायतका गतिविधि गर्ने भएकाले पुलले आवतजावतमा झन सहज हुने अपेक्षा गरिएको बेनी नगरपालिका–१, रत्नेचौरका निवर्तमान वडाध्यक्ष टेकबहादुर रावलले बताए ।

पुल बनेपछि बागलुङको पञ्चकोट, कुँडुलेमा रहेको सालग्राम सङ्ग्रहालयको अवलोकन गर्न आउने धार्मिक पर्यटकलाई सुविधा पुग्नुका साथै रत्नेचौरको खेलमैदान, धौलागिरि क्षेत्रकै सबैभन्दा ठूलो मानव निर्मित बुढोपोखरीको प्रचारप्रसार हुने स्थानीयवासीको भनाइ छ ।

पुलको कूल लागत रु तीन करोड ५० लाख रहेको छ । पुल निर्माण गर्नका लागि बानपा ४ कुँडुले निवासी जयलाल सापकोटा, इन्द्रशर्मा र पशुपति सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका हुन् ।

दैनिक सयौं सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा ५ मिनेटमै छोटिने स्थानीयवासी युवा विष्णु कार्की क्षत्रीले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.