राजस्व चुहावट मुद्दाका दोषी पान मसला उद्योगी कुतबुद्दिन शेष पक्राउ

राजस्व चुहावट मुद्दामा अदालतबाट दोषी ठहर भएका उद्योगी कुतबुद्दिन शेषलाई प्रहरीले पक्राउ गरेको छ । राजस्व चुहावट गरेको कसुरमा उच्च अदालत तुलसीपुरबाट ६ महिना कैद र करिब ६ करोड बिगो तथा जरिवाना फैसला भएपछि फरार रहेका शेषलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तुलसीपुरबाट बुधबार पक्राउ गरेको हो ।

उद्योगी शेषलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ दफा ४ को (क) र (ख) तथा दफा २(छ१) अनुसारको अन्त:शुल्क, मूल्य अभिवृद्धि कर र आयकरको राजस्व चुहावट गरेको कसुरमा उच्च अदालत तुलसीपुरले २०७८ पुस १४ गते ६ महिना कैद तथा र ३ करोड ९९ लाख १० हजार ९०३ रुपैयाँ बिगो तथा १ करोड ९९ लाख ५५ हजार ४५२ रुपैयाँ गरी ५ करोड ९८ लाख ६६ हजार ३५५ रुपैयाँ जरिवाना सजाय गरेको थियो ।

फरार रहेका शेषलाई फैसला कार्यान्वयनका लागि बिहीबार काठमाडौं जिल्ला अदालतमा पेस गरेको सीआईबीले जनाएको छ ।

राजस्व अनुसन्धान कार्यालय बुटवलले अन्त:शुल्क स्टिकर टाँस नगरिएको इको प्लस गुट्खा १५८.३६ किलो बरामदसमेत गरी बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा रहेको नेपाल पान मसला उद्योगका सञ्चालक शेषविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

उनले कच्चा पदार्थको हिसाब-किताब र लेखा लापर्बाही तथा त्रुटीपूर्ण तवरले राखी प्रचलित कानुनबमोजिम कच्चा पदार्थ एवं प्याकेजिङ मेटेरियलको खपत र सोबाट हुने उत्पादनको हिसाब उद्योग विभागबाट प्राप्त भएको नम्सअनुसार नराखी बढी गुट्खा उत्पादन गरी स्टिकर नलगाएर बिक्री-वितरण गरेको राजस्व अनुसन्धान कार्यालयले जनाएको थियो ।

राजस्व अनुसन्धानले आर्थिक वर्ष २०७३/७४, २०७४/७५ र २०७५/७६ को खरिद खाता, बिक्री खाता, उत्पादन खाता, अन्त:शुल्क स्टिकरको विवरण, बैंक स्टेटमेन्ट, विद्युत खपतको विवरण, उद्योग विभागबाट कच्चा पदार्थ तथा प्याकेजिङ मेटेरियल खपत प्रयोग अनुपातको आधारमा गरेको छानबिन तथा अनुसन्धान गरेको जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.