व्यापारी नरेश अग्रवालसहित ४ विरुद्ध सम्पत्ति शुद्धीकरणमा २८ करोड रुपैयाँ विगोसहित मुद्दा

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यापारी नरेश अग्रवालसहित चार जना विरुद्ध अभियोग पत्र दायर गरेको छ। सोमबार विशेष अदालतमा व्यापारी नरेश अग्रवाल, दीपक शाह ठकुरी, मनमोहन साह कलवार र दिवश कार्कीविरुद्ध मुद्दा दायर भएको हो। उनीहरू चार जना विरुद्ध फरक फरक विगो र सजाय दाबी सहित अभियोग पत्र दायर भएको हो।

हुन्डीको कारोबार गरेको आरोपमा माघ ४ गते भने राजस्व अनुसन्धानबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर १७ क्षेत्रपाटीबाट अग्रवाललाई पक्राउ गरेको थियो। उनी बस्ने घरको कोठाबाट राजस्वको टोलीले प्रहरीले १ करोड ९९ हजार रुपैयाँ बरामद गर्यो। त्यस्तै १ हजार ९९४ अमेरिकी डलर समेत फेला पारेको थियो।

अग्रवालसँग ८ करोड ६२ लाख ८५ हजार १५२ रुपैयाँ विगो दाबी गरिएको छ। अग्रवालका नाममा रहेको बा १९ च १०१७ को होन्डा जिप समेत सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३४ को उपदफा (१) को खण्ड (क) बमोजिम जफत गर्न अनुरोध गरिएको छ।

त्यस्तै अर्का प्रतिवादी दिवश कार्कीको हकमा ७ करोड १२ लाख २० हजार २९२ रुपैयाँ विगो माग गरिएको छ। दीपक शाह ठकुरीको हकमा भने ८ करोड ८२ लाख ३९ हजार ५६५ रुपैयाँ विगो माग छ। मनमोहन साह कलवारसँग पनि ३ करोड ७५ लाख २९ हजार ८१५ रुपैयाँ विगो रहेको छ।

अग्रवालको आदेशमा नै अन्य तीन जनाले हुन्डीको कारोबार गरेको देखिएको हो। उनले बरामद भएको रकम सापटी दिएकाले फिर्ता गरेको बताएका छन्। तर, अनुसन्धानको क्रममा उनको स्रोत खुलेको छैन।

राजस्व अनुसन्धान विभागले विदेशी विनिमयको अवैध कारोबारमा जिल्ला अदालतले १ करोड २५ लाख बिगो माग गर्दै मुद्दा दायर गरेको थियो। फागुन १५ गते अदालतले १ करोड २५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। त्यसपछि सम्पत्ति शुद्धीकरण समातेर थप अनुसन्धान गरेको हो।

अग्रवाल भारतीय नागरिक हुन्। उनको छोराको नाममा काठमाडौंको बौद्धमा पसल रहेको छ। तर उनको नाममा भने कुनै पनि व्यापारिक संस्था भएको देखिदैंन ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.