स्मार्ट सिटीका नाममा रोक्का भएका जग्गा फुकुवा नगरे ‘एक्सन’ मा उत्रिने उपत्यकाका ५ नगरपालिकाको चेतावनी

काठमाडौं उपत्यकाका पूर्वी क्षेत्रमा पर्ने स्मार्ट सिटीको लागि रोक्का राखिएको जग्गा फुकुवा गर्न पाँच नगरपालिकाले आग्रह गरेका छन् ।

कागेश्वरी मनोहरा, सूर्यविनायक, चाँगुनारायण, शंखरापुर र मध्यपुर थिमी नगरपालिकाले संयुक्त रुपमा शहरी विकास मन्त्रालयलाई जग्गा फुकुवा गर्न आग्रह गरेको हो ।

सरकारले उपत्यकाका पूर्वी पाँचवटा नगरपालिका क्षेत्रमा पर्ने जग्गाहरु स्मार्ट सिटी निर्माण गर्ने भन्दै २०७४ असार ५ गते राजपत्रमा सूचना प्रकाशित गर्दै रोक्का गरेको थियो ।उपत्यका विकास प्राधिकरण ऐन २०४५ को दफा ७ बमोजिम ३ वर्षमा नयाँ नगर निर्माण एवं विकास गर्ने र प्राधिकरणको पूर्व स्वीकृति विना कुनै प्रकारको भौतिक परिवर्तन गर्न वा टुक्र्याउन नपाउने गरी जग्गा रोक्का गरेको थियो ।

उक्त सूचनाको म्याद समाप्त भैसकेको र हालसम्म उक्त नगर निर्माण एवं विकास सम्बन्धमा कुनै पनि कार्य भएको नदेखिएकोले उल्लेखित पाँचवटै नगरपालिका अन्तर्गतका रोक्का राखिएका जग्गाहरु फुकुवा गर्न स्थानीय सरकारहरुले अनुरोध गरेका हुन् ।

‘हालसम्म उक्त नयाँ शहर निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन लगायत कुनै पनि काम शुरु नभएको अवस्थामा उक्त जग्गा रोक्का भईरहदा आम जनसमुदायलाई घर लगायत अन्य संरचना निर्माण गर्न र कित्ताकाट गर्ने कार्यमा समस्या परि दैनिक जनगुनासो आउने गरेकोले उक्त जग्गाको रोक्का फुकुवा गर्न नेपाल सरकार शहरी विकास मन्त्रालय लगायत सम्बन्धित निकायहरुलाई अनुरोध छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

पाँच नगरपालिकाले मन्त्रालयले रोक्का गरी राखेको जग्गा तत्काल फुकुवा नगरेमा स्थानीय सरकारको अधिकार बमोजिम जग्गा कित्ताकाटको सिफारीस गर्न स्थानीय सरकार अगाडि बढ्ने चेतावनी दिएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.