सगरमाथाको सरसफाइमा जुट्यो सरकार

सरकारले सर्वोच्च शिखर सगरमाथामा थुप्रिएर बसेको फाहोर पहिलो पटक सफा गर्ने भएको छ । बैशाख १४ देखि जेठ १५ गतेसम्म सगरमाथामा रहेका फोहोर सफा गर्न लागिएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।

सगरमाथामा बढ्दै गएको फोहोरलाई व्यवस्थापन गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्ड, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्वतारोहण संघ, नेपाली सेना तथा पासाङलामु गाउँपालिकाको आयोजनामा पहिलो पटक सफाइ गर्न लागिएको हो । सगरमाथामा दिनहुँ फोहोर भएको भन्दै आरोहीहरुले तीव्ररुपमा आलोचना गरिरहेका थिए ।

हिमाल सरसफाइका लागि २ करोडभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ । हिमाल आरोहणको सिजन सुरु भएका कारण नयाँ डोरी फिक्सीङ गर्नुअघि नै पुराना डोरीहरु निकाल्ने जनाइएको छ । हिमाल आरोहीहरुलाई सहयोग पुर्याउन टाँगिएका डोरी सम्बन्धित निकायले ननिकाल्दा समस्या बढिरहेको छ ।

सगरमाथाको सफाइले प्रचारप्रसारमा थप सहयोग पुग्ने विश्वास विभागका महानिर्देशक घिमिरेको भनाइ छ । सफाइको क्रममा विषेश गरी लामोसमयदेखि गाडिएको पुराना डोरी झिक्न प्रयत्न गरिने जनाइएको छ ।

सगरमाथाबाट सङ्कलन गरिएको फोहोर नेपाली सेनाले हेलिकप्टरबाट विभिन्न ठाउँबाट ल्याउने र वातावरण दिवसको अवसरमा जलाउने तयारी गरिएको विभागले जानकारी दिएको छ । नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले अन्य हिमालको फोहोर सफाइ गर्ने गरिए पनि सगरमाथाको भने पहिलो पटक गर्न थालिएको जानकारी दिए ।

उनले हिमाल आरोहीलाई गत वर्षदेखि प्रत्येक व्यक्तिले ८ किलोसम्म फोहोर लिएर आउनु पर्ने प्रावधान बनाएको भए पनि यस वर्षबाट १२ किलोसम्म ल्याउनु पर्ने नियम बनाउन लागिएको बताए । यस वर्ष चीनले पनि सगरमाथाको सरसफाइ गर्ने तयारी गरिरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.