कुन बैंकको सीइओले कति बुझ्छन् तलब ?

काठमाडौं : नेपालमा राम्रो तलब पाउनेमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी मानिन्छन् । अन्य क्षेत्रको जागिरको तुलनामा बैंकहरुमा सुविधा आकर्षक भएको मानिन्छ । त्यसमा पनि माथिल्ला तहका कर्मचारीको तलब–सुविधा राम्रो हुने गरेको छ । राम्रो सेवा सुविधा, रोजगारीको सुरक्षा भएका कारण निजी क्षेत्रको रोजगारीमध्येकै प्रमुख आकर्षण बैंक तथा वित्तीय संस्थामा बनेको छ । त्यसमा पनि वाणिज्य बैंकमा सबैभन्दा बढी तलब प्रमुख कार्यकारी अधिकृत (सीइओ) को नै हुने भयो ।सीइओले बैंकबाट मासिक तलबको अतिरिक्त विभिन्न सुविधा पाएका हुन्छन् । तलब–सुविधालाई उत्पादन वा नतिजासँग जोडेर हेर्ने गरिन्छ । सुविधा अनुसार कामको चाप र बोझ पनि उत्तिकै हुने गर्छ । नाफा बढाउने अनि सेयरहोल्डरहरुलाई राम्रो प्रतिफल दिने प्रेसर पनि जहिल्यै परिरहने सीइओहरुको भनाई रहने गरेको छ ।  यसैक्रममा प्रत्येक बैंकले आफ्नो वार्षिक प्रतिवेदनमा प्रमुख कार्यकारी अधिकृतसहित बैंकका सञ्चालक समिति र उच्च व्यवस्थापनले पाएको तलब तथा अन्य सुविधा उल्लेख गर्नुपर्ने व्यवस्था छ । सो अनुसार हालसम्म वार्षिक साधारण सभा सम्पन्न गरेका ६ बैंकले आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनमा सीइओलाई दिएको तलब उल्लेख गरेका छन् । हेरौं, कुन बैंकको सीइओको कति तलब ?

 शोभनदेव पन्त : बैंक अफ काठमाडौं  एक वर्षमा बैंक अफ काठमाडौंका सीइओ शोभनदेव पन्तले २ करोड ८१ लाख ३ लाख ७९० रुपैयाँ तल बुझेका छन् । बैंकले सार्वजनिक गरेको २०७६–२०७७ को वार्षिक प्रतिवेदनमा सीइओ पन्तलाई उक्त रकम दिइएको उल्लेख छ । यसमा नियम बमोजिम प्रदान गरिने सुविधाहरु समेत समावेश भएको छ । आर्थिक वर्ष २०७५–२०७६ मा उनले नियम बमोजिम प्रदान गरिने सुविधाहरु समेत गरेर उनले २ करोड ३२ लाख ८५ हजार ४९४ रुपैयाँ लिएका थिए ।   

सन्तोष कोइराला :माछापुच्छ्रे बैंक  माछापुच्छ्रे बैंकले अघिल्लो वर्ष प्रमुख कार्यकारी अधिकृतका लागि २ करोड २३ लाख रुपैयाँ खर्च गरेको छ । बैंकले खर्च गरेको यो तलब तथा सुविधा सुमन शर्मा र सन्तोष कोइराला समेतको हो । शर्माले कार्यकाल सकिनु अगावै राजीनामा दिएपछि कोइराला निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी पाएका थिए ।वैशाख १ गतेदेखि उनलाई पूर्णकालीन सीइओको जिम्मेवारी दिइएको थियो । अघिल्लो वर्ष बैंकले सीइओका लागि १ करोड १८ लाख रुपैयाँ मात्रै खर्च गरेको थियो । समय नहुँदै बाहिरिएपछि शर्मालाई दिनुपर्ने अतिरिक्त सुविधाका कारण बैंकको व्ययभार थपिएको हो ।

   सुरेन्द्र भण्डारी : कुमारी बैंक एक वर्षमा कुमारी बैंकका सीइओ सुरेन्द्र भण्डारीले २ करोड ३८ लाख ३१ हजार ५५ रुपैयाँ तलब तथा अन्य सुविधा लिएका छन् । उनले आर्थिक वर्ष २०७६–२०७७ मा तलब वापत १ करोड ७ लाख ४७ हजार ६९९ रुपैयाँ लिएका छन् भने ४५ लाख ६७ हजार ७७२ रुपैयाँ भत्ता बुझेका छन् । दशैं भत्ता १३ लाख ९ हजार १५ रुपैयाँ बुझेका छन् । त्यस्तै, वार्षिक र संचित विदा वापत ८ लाख ९५ हजार ६४२ रुपैयाँ र अन्य सुविधा वापत ६३ लाख ४० हजार ९२७ रुपैयाँ बुझेका छन् । आर्थिक वर्ष २०७५–२०७६ मा उनले नियम बमोजिम प्रदान गरिने सुविधाहरु समेत गरेर २ करोड १४ लाख ६३ हजार ४७७ रुपैयाँ लिएका थिए ।

रोशन न्यौपाने : एनआइसी एसिया बैंक  एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले गत वर्ष २ करोड ५० लाख रुपैयाँ बुझेको बैंकको वार्षिक विवरणमा उल्लेख गरिएको छ । यसअघि आर्थिक वर्ष २०७५–२०७६ मा उनले नियम बमोजिम प्रदान गरिने सुविधाहरु समेत गरेर २ करोड १३ लाख रुपैंयाँ पाएका थिए ।

गणेश पोखरेल : सिटिजन्स बैंक  सिटिजन्स बैंकका सीइओ गणेश पोखरेलले एक वर्षको अवधिमा १ करोड ३१ लाख ९० हजार रुपैयाँ बुझेका छन् । उनले आर्थिक वर्ष २०७६–२०७७ मा तलब वापत ८४ लाख रुपैयाँ लिगेका छन् भने ३० लाख रुपैयाँ भत्ता बुझेका छन् । यस्तै, अघिल्लो वर्ष बैंकले सीइओका लागि १ करोड ७९ लाख रुपैंया खर्चेको थियो । यो रकम तात्कालीन प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र पोखरेलले संयुक्त रुपमा बुझेको रकम हो ।

भुवन दाहाल : सानिमा बैंक  सानिमा बैंकका सीइओ भुवन दाहालले गत आर्थिक वर्ष १ करोड ४६ लाख १५ हजार रुपैयाँ मात्रै पाएका छन् । अघिल्लो वर्ष उनको यस्तो आम्दानी २ करोड ८ लाख ३९ हजार रुपैयाँ थियो । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.