बीमा कम्पनीका कर्मचारीलाई सवा ४० करोड बोनस, कुन कम्पनीको कति ?

काठमाडौं । नेपालमा सरकारी क्षेत्रमा बाहेक बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरु जागिरका लागि आकर्षणका केन्द्र हुन् । आर्कषक तलब र राम्रो सेवा सुविधासहित वार्षिक बोनसले यस्ता क्षेत्रमा जागिर खान युवाहरु लालायित हुन्छन् ।

बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीलाई पनि आफूले पाउने वार्षिक बोनसमा धेरै चासो हुन्छ । बोनस ऐन अन्तर्गत रोजगारादाता प्रतिष्ठानले कुल नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । जसअनुसार बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले कमचारीलाई बोनस वितरण गर्छन् ।

अधिकांश बैंकहरुले कुल नाफाबाट कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसलाई विभिन्न चरणमा किस्ता/किस्तामा वितरण गर्छन् भने प्रायजसो बीमा कम्पनीहरुले आर्थिक वर्ष सकिएपछि प्राप्त आम्दानीको आधारमा वार्षिक साधारणसभामा बोनस वितरण गर्छन् ।

बीमा कम्पनीहरुले त्रैमासिक रुपमा खुद नाफाबाट बोनस ऐन अनुसार कर्मचारीलाई बोनस छुट्याउने तर सोको वितरण एकैपटक वार्षिक साधारणसभामा गर्ने नेपाल बीमक संघका महासचिव चंकी क्षेत्रीले बताए ।

‘त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दा कर्मचारीलाई पनि खुद नाफाको १० प्रतिशत बढी बोनस कम्पनीहरुले छुट्याएर प्रकाशन गर्छन्,’ उनले क्किमाण्डूसँग भने, ‘केही कम्पनीहरुले साउनको पहिलो साता र दशैमा पनि अनुमानित कुल बोनसको केही प्रतिशत बाँड्छन् ।’

यस बर्षभने कोरोनाले गर्दा कम्पनीहरुको नाफामा असर परेको हुँदा प्राय कम्पनीहरुले कर्मचारीलाई अनुमानित नाफा हिसाब गरी पहिले नै बोनस वितरण नगरेको उनले जानकारी दिए ।

बीमा कम्पनीका १० हजार कर्मचारीले ४० करोड २९ बोनस पाउँदै

सञ्चालनमा रहेका २० वटा निर्जीवन र १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । जसमा निर्जीवन बीमा कम्पनीहरुले १ अर्ब ७० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

साथै सो अवधिमा जीवन बीमा कम्पनीहरुले १ अर्ब २७ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  निर्जीवन बीमा कम्पनीले पहिलो त्रैमासको नाफाबाट औषतमा १५.४६ प्रतिशत र जीवन बीमा कम्पनीले औषतमा १०.९८ प्रतिशत कर्मचारीलाई बोनस छुट्याएका छन् ।

बीमा समितिद्वारा उपलब्ध तथ्यांक अनुसार मंसिर मसान्तसम्म जीवन बीमा कम्पनीहरुमा ५ हजार ६२७ जना र निर्जीवन बीमा कम्पनीहरुमा ४ हजार ७७० जना गरी समग्र बीमा कम्पनीहरुमा १० हजार ३ सय ९७ जना कर्मचारी कार्यरत छन् ।

बोनस ऐन अनुसार यी कर्मचारीहरुमा निर्जीवन बीमा कम्पनीका कर्मचारीले चालु आवको पहिलो त्रैमासको खुद नाफाबाट निर्जीवन र जीवनले गरी कुल ४० करोड २९ लाख ९९ हजार रुपैयाँ कर्मचारीलाई बोनस छुट्याएका छन् ।

जसमध्ये निर्जीवन बीमा कम्पनीले २६ करोड ३२ लाख ६५ हजार रुपैयाँ र जीवन बीमा कम्पनीले १३ करोड ९७ लाख ३४ हजार रुपैयाँ बोनस सो अवधिको खुद नाफाबाट छुट्याएका हुन् । यो बोनस रकम वार्षिक वित्तीय विवरणको पुनः लेखापरीक्षण गर्दा हेरफेर हुनसक्छ । छुट्याइएको बोनस कम्पनीहरुले वर्ष चालु आवको वार्षिक साधारणसभा गरेपछि मात्र वितरण हुन्छ ।

निर्जीवनमा कुन कम्पनीको कति बोनस ? 

बोनस ऐनअनुसार कुनै पनि रोजगारदाता प्रतिष्ठानले वार्षिक करपछिको खुद नाफाको न्यूनतम १० प्रतिशत कर्मचारीलाई बोनस वितरण गर्नुपर्छ । सोही अनुसार २० वटा बीमा निर्जीवन कम्पनीहरुले चालु आवको पहिलो त्रैमासको नाफाबाट कर्मचारीलाई १३ करोड ६४ लाख ८७ हजार रुपैयाँ बोनस कर्मचारीलाई छुट्याएका छन् ।

वार्षिक नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई छुट्याउनु पर्ने भएपनि निर्जीवन बीमा कम्पनीहरुले पहिलो त्रैमासको नाफाबाटै १० प्रतिशतभन्दा बढी नाफा कर्मचारीको बोनसमा छुट्याएका छन् ।

नेशनल इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासको खुद नाफाबाट कर्मचारी वितरण गर्ने बोनस भने ऋणात्मक छ । कम्पनीको सो अवधिमा खुद नाफा ५ करोड ७३ लाख रुपैयाँ ऋणात्मक हुँदा कर्मचारीलाई वितरण गर्ने नाफा समेत १९ लाख ५३ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

पहिलो त्रैमासको खुद नाफाबाट सबैभन्दा बढी नेको इन्स्योरेन्सले कर्मचारीलाई बोनस छुट्याएको छ । कम्पनीले सो अवधिमा १२ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसको १४.२८ प्रतिशत अर्थात् १ करोड ७७ लाख ८० हजार रुपैयाँ बोनश कर्मचारीका लागि कम्पनीले छुट्याएको हो ।

यस्तै, सो अवधिमा शिखर इन्स्योरेन्सले १२ करोड २३ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसबाट कर्मचारीलाई १४.२८ प्रतिशत अर्थात् १ करोड ७४ लाख रुपैयाँ बोनस कम्पनीले छुट्याएको छ ।

साथै, प्र्रिमियर इन्स्योरेन्सले पहिलो त्रैमासमा ७ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसको १३.२३ प्रतिशत अर्थात् १ करोड ४ लाख ६१ हजार रुपैयाँ कर्मचारीलाई बोनस छुट्याएको छ ।

यसैगरी, एनएलजी इन्स्योरेन्सले नाफाको १६.१३ प्रतिशत अर्थात् ९८ लाख ९६ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले नाफाको १५.९७ प्रतिशत अर्थात् ८७ लाख ११ हजार रुपैयाँ छुट्याएका छन् ।

साथै अजोड इन्स्योरेन्सले नाफाको १५.८७ प्रतिशत अर्थात् ८४ लाख २० हजार रुपैयाँ र सिद्धार्र्र्थ इन्स्योरेन्सले नाफाको १६.०८ प्रतिशत अर्थात् ८१ लाख ५८ हजार रुपैयाँ कर्मचारीलाई बोनस छुट्याएका छन् ।

सो अवधिको खुद नाफाबाट प्र्रभु इन्स्योरेन्सले नाफाको १४.२८ प्रतिशत अर्थात् ८० लाख ५२ हजार रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले नाफाको १४.२८ प्रतिशत अर्थात् ७९ लाख ५० हजार रुपैयाँ, लुम्बिनी जनरलले नाफाको १५.८५ प्रतिशत अर्थात् ६८ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले नाफाको ११.८३ प्रतिशत अर्थात् ६१ लाख २९ हजार रुपैयाँ बोनस कर्मचारीलाई छुट्याएका छन् ।

चालु आवको पहिलो त्रैमासमा प्रुडेन्सियल इन्स्योरेन्सले नाफाको १४.२८ प्रतिशत अर्थात् ५८ लाख १६ हजार रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले नाफाको १४.२८ प्रतिशत अर्थात् ५० लाख ६६ हजार रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले नाफाको १५.८७ प्रतिशत अर्थात् ४८ लाख ४८ हजार रुपैयाँ र हिमालयन जनरलले नाफाको १५.८७ प्रतिशत अर्थात् ४१ लाख ७३ हजार रुपैयाँ कर्मचारीलाई बोनस छुट्याएका छन् ।

साथै, जनरल इन्स्योरेन्सले सो अवधिको नाफाबाट १७.९२ प्रतिशत अर्थात् ३७ लाख ७५ हजार रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सले नाफाको १४.२९ प्रतिशत अर्थात् २२ लाख ३९ हजार रुपैयाँ, यूनाइटड इन्स्योरेन्सले नाफाको १५.८६ प्रतिशत अर्थात् १६ लाख ९६ हजार रुपैयाँ र ओरियण्टल इन्स्योरेन्स नाफाको १४.२८ प्रतिशत अर्थात् ९ लाख ९८ हजार रुपैयाँ बोनश कर्मचारीलाई छुट्याएका छन् ।

जीवन बीमा कम्पनीमा कसको कति बोनस ?

सञ्चालनमा रहेको १९ जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो त्रैमासमा १ अर्ब २७ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । जसबाट कर्मचारीहरुका लागि कम्पनीहरुले १३ करोड ९७ लाख ३४ हजार रुपैयाँ बोनस छुट्याएका छन् ।

सो अवधिमा १९ जीवन बीमा कम्पनीमध्ये १४ वटा कम्पनीले खुद नाफाकोे १० प्रतिशतभन्दा बढी रकम कर्मचारीको बोनसका लागि छुट्याएका छन् । तर ४ वटा जीवन बीमा कम्पनीले भने खुद नाफाको १० प्रतिशतभन्दा कम रकम कर्मचारीको बोनसमा छुट्याएका छन् ।

जसमा रिलायवल नेपाल लाइफले नाफाको ९.९९ अर्थात् ६५ लाख ९० हजार रुपैयाँ, गुराँस लाइफले नाफाको ९.९९ प्रतिशत अर्थात् ४२ लाख ७७ लाख रुपैयाँ, आइएमई लाइफले नाफाको ८.२४ प्रतिशत अर्थात् ४३ लाख ८ हजार रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले नाफाको ७.३५ प्रतिशत अर्थात् ७ लाख ५६ हजार रुपैयाँ कर्मचारीलाई बोनस वापत छुट्याइएको छ । यस अवधिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ तर, कर्मचारीलाई भने बोनश छुट्याएको वित्तीय विवरणमा उल्लेख गरेको छैन ।

आर्जित नाफाको सबैभन्दा बढी प्रतिशत लाइफ इन्स्योरेन्स कर्पोरेशनले छुट्याएको छ । कम्पनीले सो अवधिमा ५ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा १३.०९ प्रतिशत अर्थात् ७५ लाख ८७ लाख रुपैयाँ कर्मचारीलाई बोनस वापत छुट्याएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले पहिलो त्रैमासमा २२ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसको १२.७८ प्रतिशत अर्थात् २ करोड ९२ लाख ७३ हजार रुपैयाँ कर्मचारीलाई बोनस वापत छुट्याएको छ । कम्पनीले कर्मचारीलाई छुट्याएको बोनस सो अवधिमा सम्पूर्ण बीमा कम्पनीहरुको तुलनामा सबैभन्दा बढी हो ।

त्यस्तै, सो अवधिमा मेट लाइफ इन्स्योरेन्सले नाफाको १२.४२ प्रतिशत अर्थात् ९३ लाख ७९ हजार रुपैयाँ, सानिमा लाइफले नाफाको ११.११ प्रतिशत अर्थात् ३९ लाख ९ हजार रुपैयाँ, महालक्ष्मी लाइफले नाफाको ११.११ प्रतिशत अर्थात् २६ लाख ९७ हजार रुपैयाँ र ज्योती लाइफले नाफाको ११.११ प्रतिशत अर्थात् ८० लाख २५ हजार रुपैयाँ कर्मचारीलाई बोनस वापत छुट्याएको छ ।

सुर्या लाइफ इन्स्योरेन्सले नाफाको ११.११ प्रतिशत अर्थात् १ करोड १२ लाख ९० हजार रुपैयाँ, प्रभु लाइफले नाफाको ११.११ प्रतिशत अर्थात् ३४ लाख ३६ हजार रुपैयाँ, प्राइम लाइफले नाफाको ११.११ प्रतिशत अर्थात् १ करोड ३४ लाख १९ हजार रुपैयाँ र सिटिजन लाइफ नाफाको ११.११ प्रतिशत अर्थात् ६७ लाख ९५ हजार रुपैयाँ कर्मचारीलाई बोनस छुट्याएका छन् ।

साथै, पहिलो त्रैमासको नाफाबाट नेशनल लाइफले नाफाको ११.०९ प्रतिशत अर्थात् १ करोड ३१ लाख ३० हजार रुपैयाँ, युनियन लाइफले नाफाको १०.८५ प्रतिशत अर्थात् २६ लाख रुपैयाँ र एशिएन लाइफले नाफाको १० प्रतिशत अर्थात् ९४ लाख ५ हजार रुपैयाँ कर्मचारीलाई बोनसवापत छुट्याएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.