जनस्वास्थ्यका नयाँ मापदण्ड आज आउँदै, तत्काल कुनै पनि क्षेत्र बन्द नहुने

काठमाण्डौ । कोरोनाको दोश्रो लहर फैलिएको दाबी गरिए पनि सरकारले तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने, बरु सर्वसाधारणमा जनस्वास्थ्यका मापदण्ड पालनाको विषयमा पर्याप्त सचेतना फैलाउने निर्णय गरेको छ । 

सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकले कोरोनाको दोश्रो लहर फैलिन नदिन र अवस्था भयावह हुन नदिन जनस्वास्थ्यका नयाँ मापदण्ड बनाई जारी गर्ने र त्यसको औपचारिक घोषणा आज(मंगलबार) गर्ने समेत निर्णय भएको छ । 

संचारमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङकाअनुसार जनस्वास्थ्यको नयाँ मापदण्डको विषय तथा कोरोनाको नयाँ भेरिएन्टबाट जोगिने विषयमा सरकारको तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेलले देशबासीलाई आज सम्बोधन गर्ने कार्यक्रम छ । सार्वजनिक संचारका माध्यमबाट उपप्रधानमन्त्री पोखरेलसँगै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले समेत जनस्वास्थ्यका नयाँ मापदण्डको विषयमा जानकारी दिने कार्यक्रम रहेको छ । 

यसअघि कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर(सीसीएमसी)को बैठकमा शैक्षिक संस्थाहरु ३ साताका लागि बन्द गर्ने प्रस्ताव मन्त्रीपरिषद बैठकमा लग्ने निर्णय भएको थियो । यस्तै, केही दिनअघि स्वास्थ्य मन्त्रालयले रात्रिकालीन व्यवसाय गर्न नपाउने गरी सूचना जारी गरेको थियो । तर, यी दुवै प्रस्ताव र सूचनालाई मन्त्रीपरिषदले मान्यता दिएन । तत्काल कुनै पनि क्षेत्र बन्द गरिहाल्ने पक्षमा सरकार नरहेको मन्त्रीहरुले बताएका छन् । 

सरकारले तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने, लकडाउनमा नजाने सोंच बनाएको छ । तर, कोरोनाको दोश्रो लहरको फैलावट र हुनसक्ने क्षतिको अवस्था हेरेर भविष्यमा थप निर्णयहरु गर्ने पक्षमा सरकार रहेको प्रवक्ताले बताएका छन् । 

सोमबार देशभर एकैदिन ५०० बढी संक्रमितको पहिचान भएको थियो भने १३ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.