ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घन्टा खुलाउन छलफल, एक हप्ताभित्र पूर्णता दिइने

काठमाडौँ । सरकारले काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घन्टा खुलाउने तयारी गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा २४ सै घण्टा व्यापार व्यवसायी सञ्चालन सम्बन्धी समन्वय बैठकमा सम्बन्धित सबै निकायहरू र व्यवसायीहरूसँग काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफल गरेका हुन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ घन्टा खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन काठमाडौँले यसको तयारी थालेको छ । ठमेल र दरबारमार्ग २४ सै घन्टा खुला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको जनाएको छ ।

सोमवार सम्बन्धित निकाय र व्यवसायीहरूसँगको छलफलमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घन्टा खुलाउने तयारी रहेको बताए । उनले ‘सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गर्ने बताए । उनले व्यापार व्यवसाय सञ्चालनको लागि व्यवसायी र स्थानीय बासीहरू सम्मिलित बजार व्यवस्थापन समिति बनाउने वा भएका समितिलाई जिम्मेवारी दिइने बताए ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले व्यवसायीहरूले वस्तु तथा सेवामा दिउँसो र रातीको मूल्य फरक बनाउन नपाउने बताए । उनले यस्ता हरेक कुराहरूलाई व्यवसायीहरूले ख्याल गरेर जानुपर्ने अवस्था रहेको बताए । उनले २४ सै घन्टा बजार खुला गरेपछि ग्राहक सेवाग्राही वृद्धि हुने बताए । साथै अहिलेको भन्दा अपराधीक क्रियाकलाप बढ्नसक्ने अनुमानका आधारमा सोही अनुसारको सुरक्षा प्रणाली विकास गरिने बताए । उनले व्यवसायीहरूले आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन हुनेगरी ध्वनि प्रदूषण गर्न नपाउने पनि बताए ।

बैठकपछि ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले लामो समयदेखि ठमेलमा २४ सै घण्टा व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै आएको बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले उक्त मागलाई सुरक्षा परिषद् र जिल्ला प्रशासन कार्यालयले परिमार्जन गरी ठमेल र दरबार मार्गलाई सुरक्षित र व्यवस्थित रूपमा कसरी सञ्चालन गर्ने विषयमा छलफल भएको बताए । उनले व्यवसायी र अन्य क्षेत्रले दिएका सुझावहरूको आधारमा आगामी तीन दिनभित्र टुङ्गो लगाउने विषयमा पनि छलफल भएको बताए । उनले अबको एक हप्ताभित्र पूर्णता पाउने विश्वास रहेको बताए ।

दरबारमार्ग विकास बोर्डका कोषाध्यक्ष सञ्जय अधिकारीले दरबार मार्गलाई २४ घण्टा खुला गर्न हरेक हिसाबले उपयुक्त रहेको बताए । उनले ७० मिटरको क्षेत्रफलमा सबै संरचनाहरू तयारी अवस्थामा रहेकाले सरकारले तत्काल २४ सै घण्टा खुला गर्दा कुनै समस्या नपर्ने बताए ।

उनले दरबार मार्गलाई २४ सै घन्टा खुला गरी नाइट वाक क्षेत्र बनाउन आवश्यक रहेको पनि बताए । उनले सरकारले दरबार मार्गलाई २४ सै घन्टा खुला गर्नेकुरा स्वागतयोग्य रहेको बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.