दैनिक पत्रिका बैंक वित्तीय संस्थाको ‘३५ दिने सूचना’ ले भरिन थाले, लिलामीको सम्पत्ति बिक्री ठप्प

अहिले दैनिक पत्रपत्रिकाहरु बैंक तथा वित्तीय संस्था र सहकारीहरुको ‘लिलामीको सूचना’ ले भरिन थालेका छन्। ग्राहकले पैसा नतिरेपछि बैंक तथा वित्तीय संस्थाहरुले सात दिनेदेखि ३५ दिनेसम्मको लिलामी सूचना दैनिक प्रकाशित गर्न थालेका छन्।

आर्थिक मन्दीसँगै उधारो उठ्न छाडेको छ। यसले आम्दानी घटेको छ। अर्कोतर्फ ऋणको ब्याज दर लगभग दोब्बर भइसकेको छ। आर्थिक मन्दीका कारण एकातिर कुनै आर्थिक कारोबार छैन भने उच्च ब्याज दरले ऋण तिर्ने क्षमतामा कमी आइरहेको छ।

यी दुवै कारणले गर्दा बैंक तथा वित्तीय संस्थाको ऋण उठ्न छाडेको हो। ऋण उठ्न छाडेपछि बैंकहरुले धितो लिलाम गर्न थालेका हुन्। तर धितोमा लिलाममा राखिएको सम्पत्ति पनि बिक्री हुन छाडेको छ। त्यही भएर केही बैंक तथा वित्तीय संस्थाले एउटै सम्पत्ति लिलामीका लागि पटक-पटक पनि सूचना जारी गरिरहेका छन्।

‘अवस्था निक्कै जटिल बनेको छ। दैनिक पत्रिकामा भरिएका ३५ दिने सूचनाले नै हामी कतातिर गइरहेका छौं भन्ने देखाउँछ,’ एक बैंकरले भने, ‘अति भएपछि बैंक तथा वित्तीय संस्थाले नै धितो सकार्न थालेका छन्।’

लिलामीको जग्गा बिक्री हुन छाडेपछि बैंकको निष्क्रिय कर्जा समेत बढ्न थालेको छ। असोजको वित्तीय विवरणले बैंक तथा वित्तीय संस्थाहरुको खराब ऋण बढेको देखाउँछ।

‘अहिले त खासै ठूलो समस्या देखिएको छैन। पुस मसान्तको तथ्यांकले खराब ऋण निक्कै बढेको तस्बीर दिने छ,’ ती बैंकरले भने, ‘राष्ट्र बैंककै कतिपय नीतिका कारण पनि खराब ऋण बढ्ने अवस्था आएको छ।’ उनका अनुसार, नियमित ब्याज भुक्तानी गरिरहेका विद्यालय, सिनेमाहल, कोल्डस्टोरेजजस्ता व्यवसायलाई किन जग्गा किन्न पनि पैसा दिएको भन्दै नोक्सानी व्यवस्थापन गर्न लगाइएको छ।

‘नियमित रहेको ऋणमा पनि यस्तो रवैया देखाएपछि खराब ऋण त बढ्ने नै भयो,’ अर्का एक बैंकरले भने।

बैंकको पैसाका कारण भुक्तानी प्रक्रिया सहज भइरहेका बेला बैंकले ऋण दिन छाडेपछि त्यो चक्र अवरुद्ध भएर ऋण उठ्तीमा समस्या भएको छ। अहिले ऋणको ब्याज पनि साढे १८ प्रतिशतसम्म पुगेको छ। एकातिर बढ्दो ब्याज अर्कोतिर बैंकहरुले स्प्रेड दर पनि वृद्धि गरेका छन्। दोहोरो चेपुवामा परेका ऋणीहरु अहिले समस्यामा देखिन थालेका हुन्।

तरलता अभावका कारण चौतर्फी रुपमा आर्थिक गतिविधि रोकिएको छ। आर्थिक गतिविधि नहुँदा घरजग्गा कारोबारसमेत घटेको छ। सेयर बजारसमेत घटेका कारण मान्छेको सम्पत्तिको मुल्य दिन-दिन तल आइरहेको छ। बजारको उधारो समेत उठ्न समस्या हुन थालेको छ। औद्योगिक उत्पादन घटेको छ। उद्योगबाट हुने विद्युतकै माग पनि आधा भइसकेको छ।

‘बजार नै समस्यामा छ। यस्तो बेलामा राष्ट्र बैंकले कस्ने मात्र नीति लिँदा खराब ऋण बढ्न थालेको छ,’ अर्का एक बैंकरले भने, ‘अब हामी ठूलै एसेट ट्रयापमा पर्नेछौं।’

बजारलाई चलायमान बनाउने बैंक ऋण भएकाले त्यो रोकिँदा समग्र प्रणालीमै असर गरेको हो। बैंकरका अनुसार, घरजग्गा बेचेर ऋण तिर्ने अवस्था पनि अहिले छैन। किन्न चाहनेले पनि बैंकबाटै पैसा व्यवस्थापन गर्ने हो, बैंकले पैसा नदिएपछि खरिद गर्ने अवस्था छैन। अर्कोतिर उच्च ब्याज छ। महँगो ब्याजमा घरजग्गा किन्ने आँट कसैलाई छैन। यही कारण मालपोतमा हुने कारोबार पनि निक्कै घटेको छ।

‘रियलस्टेटमा मात्र होइन अन्य व्यापार व्यवसायको पनि पैसा असुलीमा ठूलो समस्या देखिन थालेको छ,’ ती बैंकरले भने, ‘अहिले सबैतिर दबाबै दबाब मात्र छ।’

बैंकहरुले ऋण उठ्न छाडेपछि ऋणीलाई कालोसूचीमा राख्ने क्रम पनि बढेको छ। कर्जा सूचना केन्द्रका अनुसार, पोहोरको तुलनामा अहिले दोब्बरले कालोसूचीमा पर्नेहरु बढेका छन्।

ऋण लिने अधिकांश ग्राहकले धितोका रुपमा घरजग्गा तथा अन्य अचल सम्पत्तिहरु राख्ने गर्छन्। अहिले व्यापार पनि मन्दीजस्तो देखिएको छ। नगद प्रवाह धेरै भएकाहरुको पनि कारोबार घटेको छ।

‘घरजग्गा बेचेर ऋण तिर्छु भन्दा पनि सकिने अवस्था छैन। खरिदकर्ता भेटिन छाडेको छ। बैना हुन्छ तर नामसारी गर्न बाँकी पैसा नहुने समस्या धेरै देखिएको छ,’ ती बैंकरले भने, ‘यसले बैंकहरुको खराब ऋण बढ्न थालेको छ।’

एउटा क्षेत्रका लागि भनेर ऋण लिएर जग्गामा लगानी गरेकाहरु अहिले समस्यामा छन्। राष्ट्र बैंकको अनुगमन टोलीले प्रतिवेदन दिन थालिसकेका छन्। ती प्रतिवेदनका आधारमा पनि  ऋणमा निकै कडाइ गरिन थालेको छ। उनीहरुले कैफियत देखेमा शतप्रतिशत नोक्सानी व्यवस्थापन गर्नु पर्ने हुन्छ। यसले बैंकको वासलात बिग्रिन जान्छ। त्यसो हुँदा बैंकहरुले पनि अहिले जसरी हुन्छ पैसा तिर्न दबाब दिन थालेका छन्।

एकातिर सम्पत्ति बिक्री हुँदैन, नगद प्रवाह छैन, अर्कोतिर बैंकको पनि दबाब पर्न थालेपछि सम्पत्तिहरु लिलामी राखिन थालेका हुन्।

बैंकको दबाबमा परेकाहरुले बैंकरलाई नै ग्राहक खोजिदिन भन्न थालेका छन्। अहिले सामाजिक सञ्जाल फेसबुक, टिकटक जताततै आकर्षक घरजग्गा भन्दै बिक्रीमा राख्न थालिएको छ। बैंकको भरमा निर्माण थालेका उनीहरुको पहुँचभन्दा माथि ऋण र ब्याज पुगेपछि सस्तोमै सल्टाउन बिक्रीमा राख्न थालेका हुन्।

‘एकै पटक धेरै जग्गा बिक्रीमा राख्दासमेत बिक्री हुन नसकेको हुन सक्छ,’ अर्का एक बैंकरले भने, ‘मुख्य कुरा भने ऋण नै हो। ऋण उपलब्धता नहुँदा नै उनीहरु समस्यामा परेका हुन्। बैंक पनि समस्यामा परेको हो।’

राष्ट्र बैंकले आर्थिक चक्रलाई नियमित पार्ने गरी काम नगर्ने हो भने चालु वर्षभित्र खराब ऋण दोब्बरले बढ्ने बैंकरको अनुमान छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.