निफ्राको नाफा ३४.३७%ले बढ्यो, ईपीएस भने घट्यो

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

निफ्राले समीक्षा अवधिमा २४ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३४.३७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा निफ्राले १८ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा निफ्राको सञ्चालन मुनाफा पनि ३४.१९ प्रतिशतले बढेर ३४ करोड ५७ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा २५ करोड ७६ लाख रुपैयाँमा सीमित थियो।

यो अवधिमा निफ्राले खुद ब्याज आम्दानी ४५.७८ प्रतिशतले बढाउन सफल भएको छ। गत वर्ष यही अवधिमा २८ करोड ३५ लाख रुपैयाँमा सीमित यस्तो आम्दानी बढेर ४१ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

निफ्राले २९ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष यही अवधिमा निफ्राले २५ करोड निक्षेप संकलन गरी ९० करोड ८ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिमा निफ्राको रिजर्भको आकार ४५.६८ प्रतिशतले बढेर २ अर्ब ६४ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा १ अर्ब ८१ करोड रुपैयाँ थियो।

निफ्राको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ४.८४ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा निफ्राको ईपीएस ६ रुपैयाँ थियो।

मूल्य आम्दानी अनुपात (पीई रेसियो) ७४.३७ गुणा रहेको निफ्राको प्रतिसेयर नेटवर्थ ११३.२२ रुपैयाँ रहेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.