वर्षमान पुन अर्थमन्त्री बन्ने लगभग निश्चित

अर्थमन्त्रीमा माओवादीबाट वर्षमान पुन नियुक्त हुने करिब पक्का भएको छ। कांग्रेसको गठबन्धन तोडेर एमालेसँग साझेदारी गर्ने मुख्य योजनाकार रहेका पुनलाई उनको रोजाईको मन्त्रालय दिन लागिएको हो।

उनी यसअघि पनि अर्थमन्त्री भइसकेका हुन्। तर, उनले अर्थमन्त्री भइकन पनि बजेट निर्माण गर्न पाएका थिएनन्। जेठ १५ गते सार्वजनिक हुने बजेट निर्माणको काममा लाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनलाई भनिसकेको स्रोतको दाबी छ।

प्रधानमन्त्री र अर्थमन्त्री फरक-फरक दलको हुँदा सरकारको नीति तथा कार्यक्रम नै प्रभावकारी नहुने देखिएपछि यसपालि दाहालले अर्थ मन्त्रालयमा आफ्नै दलका नेतालाई पठाउने निर्णय गरेका हुन्।

अर्थमन्त्रीका लागि एमालेबाट विष्णु पौडेल आकांक्षी थिए। तर, नयाँ समीकरणमा दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अरु मन्त्रालय रोजेर लिएपनि अर्थ मन्त्रालय आफैंसँग राख्ने बताएका थिए। त्यसमा ओली पनि सकारात्मक भएपछि नयाँ अर्थमन्त्री वर्षमान पुन हुने करिब पक्का भएको हो। ‘प्रधानमन्त्रीज्यूले सरकारको नीति तथा कार्यक्रमका साथै बजेट निर्माणमा आन्तरिक रुपमा जुट्न भनिसक्नु भएको छ,’ स्रोतको दाबी छ, ‘पुनले यसबारेमा आन्तरिक काम पनि सुरु गरिसकेका छन्।’

कांग्रेसबाट अलग्याएर एमालेसँग समीकरण बनाउने मुख्य शुत्रधारमध्येका पुन एक हुन्। उनी कांग्रेससँगको गठबन्धनको कहिले पनि समर्थक थिएनन्। उनी एमालेसँग सकभर एकीकरण नभए पनि गठबन्धन गरेर जानुपर्छ भन्ने पक्षका नेता हुन्। पुनको यो भूमिकामा एमाले अध्यक्ष ओली पनि सकारात्मक छन्। कांग्रेस गठबन्धनमा हुँदा निवर्तमान अर्थमन्त्री डा। प्रकाशशरण महतले संसदमा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिसकेका छन्। त्यसका बारेमा सोमबारबाटै छलफल हुनुपर्नेमा गठबन्धन परिवर्तनले स्थगित भएको थियो।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.