वीरगञ्ज भन्सार : वार्षिक राजस्व उठाउने लक्ष्य साढे २ खर्ब, ८ महिनामा संकलन १ अर्ब मात्रै

वीरगञ्ज। मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। साउनदेखि फागुन मसान्तसम्म उक्त राजस्व संङ्कलन गरिएको कार्यालयले जानकारी दिएको छ।

कार्यालय प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले चालु आवको ८ महिनामा वार्षिक लक्ष्यको ४०.५५ प्रतिशत राजस्व संकलन गरिएको जानकारी दिए। ‘विकास निर्माण लक्षित पुँजीगत खर्च हुने समय भर्खरै सुरु भएकाले पनि चालु आवमा राजस्व संकलनमा सुधार हुने पर्याप्त सम्भावना रहेको छ,’ उनले भने, ‘चालु आर्थिक वर्षमा वार्षिक लक्ष्यको कम्तीमा पनि ७२ देखि ७५ प्रतिशत राजस्व संकलन गर्ने लक्ष्यसहित काम गरिरहेका छौँ।’ भन्सार कार्यालयले सरदर दैनिक ४० करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गरिरहेकको छ।

कार्यालयले विशेष गरी १२ शीर्षकमा राजस्व संकलन गर्दै आएको प्रमुख भन्सार प्रशासक पन्थीले बताए। यसअन्तर्गत भन्सार महसुल (आयात), मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम आयकर, स्वास्थ्य जोखिम कर, पूर्वाधार कर, कृषि सुधार शुल्क, भन्सारसम्बन्धी अन्य आय र सडक मर्मत तथा सुधार दस्तुर, सडक निर्माण तथा सम्भार दस्तुर र विलाशिता शुल्क उठाउँदै आएको छ। भन्सार विभागले चालु आवमा कार्यालयलाई २ खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.