वैशाखका लागि १३ वाणिज्य बैंकले घटाए ब्याजदर

वैशाख महिनाका लागि १३ वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार चैतको तुलनामा व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ० दशमलव १९ प्रतिशत विन्दुले घटेको हो ।

२० वाणिज्य बैंकहरूमध्ये पाँचवटाले चैतकै दरमा निक्षेपमा ब्याज दिने भएका छन् ।

दुई वाणिज्य बैंकले ब्याजदर बढाए पनि औसतमा भने वाणिज्य बैंकहरूको ब्याजदर वैशाखमा ०.१८३ प्रतिशत विन्दुले घटेको छ । चैतमा वाणिज्य बैंकहरूको औसत ब्याजदर ७.२५४ प्रतिशत रहेकोमा आगामी वैशाखमा औसत ब्याजदर ७.०७१ प्रतिशत हुने भएको छ ।

कृषि विकास, स्टान्डर्ड चार्टर्ड, नबिल, हिमालयन र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर वैशाखका लागि स्थिर राखेका छन् ।

त्यस्तै एभरेस्ट र एनएमबीले चैतको तुलनामा वैशाखमा बढाएका छन् । बाँकी १३ बैंक नेपाल, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, सिद्धार्थ, प्राइम कमर्सियल, कुमारी, सानिमा, एसबीआई, सिटिजन्स र एनआईसी एसियाले ब्याजदर घटाएका छन् ।

चैत महिनामा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै एनआईसी एसियाले ८.५४ प्रतिशत दिएको थियो भने वैशाख महिनामा सबैभन्दा धेरै एनएमबीले ७.९७ प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दती निक्षेपमा अब कुनै पनि बैंकको ब्याजदर ८ प्रतिशत पनि नपुग्ने भएको छ ।

त्यसैगरी वाणिज्य बैंकहरूले संस्थागत निक्षेपमा भने साधारण निक्षेपमा दिने ब्याजभन्दा एक प्रतिशत विन्दुभन्दा कम ब्याज दिँदै आएका छन् । त्यस्तै रेमिट्यान्स खातामा भने बैंकहरूले साधारण निक्षेपका एक प्रतिशत विन्दु बढी ब्याज दिनुपर्ने व्यवस्था छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.